पप्पु रेग्मी, नवलपरासी ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा साहित्य लेखन तथा गायन सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम बर्दघाटमा सम्पन्न भएको छ । विद्यार्थीहरूलाई लक्षित गरी आयोजित दुई दिने कार्यक्रममा गजल, गीत तथा चारु लेखनका विविध पक्षबारे विस्तृत छलफल गरिएको थियो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले भाषा, कला र साहित्य प्रवर्द्धन गर्न प्रज्ञा प्रतिष्ठान मार्फत विभिन्न विधाका कार्यक्रम सञ्चालन गरेको हुनाले गाउँ घरमा रहेका कलाकारहरूकाे प्रतिभालाई उजागरण गरेको बताउनुभयो ।
पहिलो दिन लेखन प्रशिक्षण र दोस्रो दिन गीत र गजल गायन विशेष आकर्षण बनेको थियो। ‘गोल्डेन आइडिया २०७४’ का विजेता गजलकार विजय गुप्ताले नेपाली तथा भोजपुरी भाषामा गजल प्रस्तुत गर्नु भएको थियो । यसैगरी गजल गायक एवं संगीतकार सुशील श्रेष्ठ र गायक तेज अर्याल, संगीतकार एवं गायक पुरूषाेत्तम घिमिरे लगाएत स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति एवं गजलकार डा. घनश्याम न्यौपाने “परिश्रमी” ले गजल संरचना, बहर, काफिया र रदीफको प्रयोगबारे सहजीकरण गर्नु भएको थियो।
प्रतिष्ठानका संगीत विभागका संयोजक लोक बहादुर मिजार, बर्दघाट नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल लगाएतले गीत, संगीत, गजलका विषयमा बाेल्नु भएकाे थियो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका दिप प्रकाश लोहनीकाे स्वागत मन्तव्य रहेको कार्यक्रमकाे संचालन लाेक बहादुर मिजार र सदस्य सचिव शरद पौडेलको रहेको थियो ।
कार्यक्रममा बर्दघाट नगर भित्रका सामुदायिक तथा संस्थागत ३७ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको प्रज्ञाप्रतिष्ठानका कार्यालय सहयोगी शक्ति पाैडेलले बताउनुभयो ।
प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा प्रज्ञा सभा सदस्य जिवनाथ पौडेलले धन्यवाद व्यक्त गर्नुभएको थियो ।