असोज २०, नवलपरासी ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवार तय गर्ने कसरत चलिरहेकाे बेला नेकपा एमाले नवलपरासीले पनि उम्मेदवारकाे टुंगो लगाएको छ ।
क्षेत्र नम्बर १ बाट हृदयेश त्रिपाठी उठ्ने भएका कारण प्रतिनिधि सभाको लागि कुनै पनि नाम सिफारीस गरिएको छैन ।त्रिपाठीले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने यसअघि नै सहमति भैसकेको छ । एमाले परासीले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनावको लागि डा. शोभाकान्त ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
प्रदेश सभा चुनावका लागि भने क्षेत्र नम्बर १ को ‘क’ बाट बृहस्पति अधिकारी, दिपेन्द्र अधिकारी, रुकमाङ्गत ज्ञवाली, टोपबहादुर सिंह ठकुरी र सांसद सिन्धु जलेसाको नाम सिफारिस गरिएको छ । १ को ‘ख’ बाट टेकनारायण उपाध्याय, रामु अर्याल, रमेश पाण्डे र गणेश पोखे्रलको नाम सिफारिस गरिएको छ ।
परासी क्षेत्रको २ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको लागि ‘क’ र ‘ख’ दुवै क्षेत्रबाट सर्वसम्मत रुपमा नाम सिफारिस गरीएको नेकपा एमाले परासी जिल्ला कमिटी सहसंयोजक थानप्रसाद गैरेले बताउनु भयो ।
क्षेत्र नम्बर २ को ‘क’ बाट सांसद बैजनाथ चौधरी र ‘ख’ बाट सिताराम चौधरीको नाम सिफारिस गरिएको बताउनुभयो ।