काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।
यसअघि सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षा बारेमा निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेर परीक्षा नलिने तयारी गरेको बनाएपनि सेमेष्टरको परीक्षा लिने भएको हो । उहाँले दशैँ अगाडि रोकिएका सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यसपटक विद्यार्थीलाई पायकपर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने छ । “पहिले हामीले १२–१३ किलोमिटरभित्रमा परीक्षा केन्द्र राख्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “यसपटक भने विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राख्ने छौँ ।”
त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । यसैगरी पनिकाले बन्दाबन्दीका कारणले रोकिएका परीक्षाफल धमाधम गरिरहेको छ ।
पनिकाले गत वैशाख २० गतेदेखि कार्यालयका कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको छ । उहाँका अनुसार स्नातकोत्तर तहका १२ विषय, कानून सङ्काय, मानविकी र व्यवस्थापनको स्नातक तहको प्रथम वर्षको परीक्षाफल प्रकाशन गर्न बाँकी रहेको छ ।
पनिकाले सबै परीक्षाफल प्रकाशित गरेर परीक्षा गर्ने र ती परीक्षाको पनि तीन महिनाभित्र प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो । उहाँले वार्षिक क्यालेन्डर मिलाउने गरी परीक्षा र परीक्षाफल प्रकाशन गरिने तयारी गरिएको बताउनुभयो । साभारः उज्यालाे