आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्ने तयारी: आयुक्त पौडेल

13

१८ भदौ, कलैया । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गरेका छन् ।

आज कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरुले व्यापकरुपमा आचारसंहीताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गरे । संविधान कार्यान्वयन गर्ने पाटोको रुपमा स्थानीय निर्वाचन भइरहेको बताउँदै पौडेलले योग्य, तथा कुशल उम्मेदवार छान्न जनतालाई आग्रह गरे ।

सामाजिक सद्भावमा खलल पुग्ने काम कोई कसैबाट भएमा त्यसको परिणाम गलत हुने तर्क गर्दै आयुक्त पौडेलले आपसी सद्भाव कायम गर्न सबै राजनीतिक दल तथा जनताले कार्य गर्नुपर्नेमा जोड दिए । प्रदेश नं २ मा निर्वाचन सामग्री पठाइदिएको बताउँदै मत हाल्नलाई कुनै कठिनाई नहुने बताए । सो अवसरमा दलहरुले आचारसंहिता पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयुक्त पौडेलले आयोगले प्रदेश नं २ को चुनावलाई सम्वेदनशीलरुपमा लिएको बताए । नेपाल–भारतबीचको खुला सिमाना, सशस्त्र तथा भुमिगत समूहहरु भएको हुँदा संवेदनशील भएपनि दरिलो सुरक्षा प्रबन्ध गरी निर्वाचन गराउनमा कुनै कसर बाँकी नराख्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

स्थानीय तहको अन्तिम चुनाव भएको हुँदा कतिपय दलहरुले चुनाव जित्न प्रतिष्ठासँग जोड्न थालेको हुँदा यस्तो अवस्थामा आयोग निकै संवेदनशील भएर अगाडि बढिरहेको पौडेलले बताए । कसैलाई काखा कसैलाई पाखा हिसाबले समाचार प्रशारण प्रकाशन नगर्न पनि उनले पत्रकारहरुलाई आग्रह गरे ।

पार्टीमुखी पत्रकारिताभन्दा माथि उठेर कलम चलाउन उनले आग्रह गरे । सरकार र आयोगवीच आचारसंहिता लगाएको विषयमा केही मतमतान्तर भइरहेको छ नि भन्ने प्रश्नको जवाफमा आयुक्त पौडेलले निर्वाचनको एकसय २० दिन अगाडि आचारसंहिता लगाउनुपर्ने बाध्यता भएको हुँदा आचारसंहिता लगाउनु परेको बताए । सरकारलाई केही अप्ठयारो परेको अवस्था छ भने निर्वाचन आयोगसँग बसेर गाँठो फुकाउन आयोग तयार रहेको जानकारी दिँदै उनले आचारसंहिताको पालना गर्न सबैलाई आग्रह गरे । रासस