बिशेष संवाददाता
परासी, मंसिर १६ ।
प्रदेश नं.५ नवलपरासी निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा १ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका दिपेन्द्र अधिकारीले विद्यालय (मदरसा) क्षेत्रमा राजनीतिक कार्यक्रम गरी आचार संहिता उलंघन गरेका छन् ।
निर्वाचन आयोगले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म प्रचारप्रसारसँग सम्बन्धित कार्यक्रम आयोजना गर्न आचार संहिता सार्वजनिक गरेपनि एमाले उमेदवार अधिकारीले शुक्रबार सरावल गाउँपालिका वडा नं.४ को एक मदरसा भित्र भाषण गरी आचार संहिताको धज्जी उडाएका हुन् ।
निर्वाचन आचार संहिता, २०७२ को तेस्रो संसोधन २०७४ मा आचार संहिता परिच्छेद एकको ५ नम्बर बुँदा बिषयगत आचरण अन्तर्गत १० नम्बर बुँदामा कुनैपनि प्रचार प्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म गर्न उल्लेख रहेपनि उमेदवार अधिकारीले त्यस्को ठाडै उलंघन गरेका हुन् ।
प्रदेश सभा सदस्यका उमेदवार अधिकारीले राती ८ बजेपछि प्रचारप्रसार कार्यक्रममा भाषण गरेका हुन् । यस्तै निर्वाचन आचार संहिताको परिच्छेद २ को ४ नम्बर बुँदाको ज मा कुनै मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचन सम्बन्धि प्रचार प्रसार गर्न वा गराउन नहुने उल्लेख रहेको छ । तर नेता अधिकारीले मदरसा र मस्जिद रहेको ठाँउमै गएर कार्यक्रममा सहभागी भएका हुन् ।
मौन छन् सरोकारवाला निकाय
यस बारे मुख्य निर्वाचन अधिकृतको कार्यलयले खटाएको अचार संहिता अुनगमनकर्ता काशीराम ज्ञवालीलाई फोन सम्पर्क गर्दा उनी फोन सम्पर्कमा आउन खोजेका छैनन् भने नवलपरासीका मुख्य निर्वाचन अधिकृत माध्वेन्द्रराज रेग्मी र निर्वाचन अधिकारी दिपक पौडेलको पनि फोन रिसिभ भएको छैन । यद्धपी यस बारे नवलपरासीका सहायक निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले साँझ ७ बजेपछिको प्रचारप्रसारको कार्यक्रम अचार संहिता विपरित रहेकाे बताउनु भयो ।