24.1 C
New York
Friday, April 17, 2026

Buy now

spot_img
spot_img

सुस्तावासी आतंकित, नेपाल प्रहरी अनभिज्ञ

- Advertisement -

सुस्ता: सीमा ओझेलमा, सुरक्षा अनुत्तरदायी—कहिले रोकिन्छ भारतीय सुरक्षा अंगको निर्बाध प्रवेश?


बृजराज कुशवाहा, विशेष फिचर–अनलाइन जनता

नेपाल–भारत सीमाको संवेदनशील मोडमा पर्ने सुस्ता—एक यस्तै भू–भाग, जहाँ भू–राजनीतिका उतार–चढाव, नदीको बगाइ, र राज्यका अडानहरू सधैँ जाँचिँदै आएका छन्। विडम्बना के छ भने, देशको अस्तित्वसँग जोडिएको यति महत्वपूर्ण क्षेत्र आज पनि सम्बद्ध निकायको प्रत्यक्ष बेवास्ता र भारतको अनौपचारिक शक्ति–प्रदर्शनका बीच निरन्तर पीडित बनेको छ।

१. ‘राजनीतिक उर्वर भूमि’ भनेर भन्दैमा सुरक्षित हुँदैन सुस्ता

देशको प्रमुख राजनीतिक दलहरू सुस्तालाई आफ्नो प्रभाव विस्तारको “उर्वर भूमि” मान्छन्, तर यही भूभागमा बस्ने नेपाली नागरिकका आधारभूत सुरक्षाका सवालमा राज्य निकै दूरीमा उभिएको देखिन्छ। स्थानीयवासीले बारम्बार भन्दै आएका छन्—“यहाँ भारतीय सुरक्षा अंग हातहतियारसहित जुनसुकै समयमा पसेर यत्रतत्र सोधपुछ गर्छन्, तर नेपाल प्रहरी टाढाबाट हेरिरहन्छ ।”
हेर्दा लाग्छ—मानौँ मालिकको सामु दासजस्तै नेपाली सुरक्षा निकाय मौन उभिएको छ।

२. भारतीय सुरक्षाकर्मीको ‘मनपरी प्रवेश’—नेपाली प्रहरी मौन

स्थानीयहरूको कथन, प्रत्यक्ष घटनाहरू, र दर्जनौँ पटकको भिडन्तले एउटै कुरा दोहोर्याइरहेको छ—भारतीय सुरक्षाकर्मीहरू सुस्ता क्षेत्रमा बिना अनुमति हतियारसहित पसेको घटना सामान्यजस्तै बनेको छ।
तर सबैभन्दा गम्भीर पक्ष—नेपाल प्रहरीले ती घटनाको रेकर्ड समेत नराख्ने प्रवृत्ति
ना घटना विवरण, ना प्रतिवेदन, ना अनुसन्धान—सीधै “अनसुनी”।

२०८१ को वर्षायाममा थार मोडेलको भारतीय नम्बर प्लेट BR22 BJ 4426 वाहनसहित भारतीय प्रहरी, वन अधिकारी र सुरक्षाकर्मीहरूले नेपाली भूमिमा प्रवेश गरे। स्थानीयले गाडी घेरा गरेपछि नेपाल प्रहरी बोलाइयो। प्रहरीले उपस्थित त त भयो, तर कुनै कारबाही? कुनै प्रश्न? कुनै अभिलेख?—कुनै पनि होइन।

यति ठूलो सुरक्षा उल्लंघनमा समेत “घटनाको कुनै रेकर्ड छैन” भन्ने अवस्था आज पनि छ।

३. ‘सरस्वती पूजा घटना’—प्रहरीलाई स्थानीयले बोलाए, प्रहरीले फेरि आँखामुनि देखेन

०८१ माघ २१—सरस्वती पूजाका दिन। भारतीय प्रहरी चढेको गाडीमा सवार एक व्यक्तिले स्थानीय मुन्ना खाँको खोजी सुरु गरेपछि गाउँमा तनाव सिर्जना भयो। गाडी घेरियो, प्रहरी बोलाइयो, तर प्रहरीले फेरि “केही गरिरहेकाे छैन” भन्नेस्तरीय निष्क्रियता देखायो।

त्यतिबेला तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुयाँलले आफूसँग विस्तृत विवरण नभएको बताए।
उहाँको कथन—
“भ्यान बाटो बिराएर नेपाली भूमि पसेको हो, तर को थिए, किन पसे, कति जना थिए, कति हतियार थियो—यकिन छैन।”

सीमामा पर्ने एउटा अति संवेदनशील घटना—तर प्रहरी नेतृत्वसँग पनि अभिलेख छैन, जानकारी छैन, तथ्य छैन।

४. भारतीय प्रशासनको निगरानीमा रहेका ‘मुन्ना खाँ’—सुरक्षाको भार आफ्नै काँधमा

सुस्ता क्षेत्रलाई दशकौँसम्म जोगाउने क्रममा चर्चामा आएका मुन्ना खाँ भारतीय प्रशासनको निरन्तर निगरानीमा छन्। अघिल्ला वर्षमा नै उनलाई अपहरण–सदर गर्ने योजना बनाइएका थिए, केही असफल प्रयासहरू समेत भए।
तर राज्यको संरक्षण?—कागजमा पनि छैन।

उनै मुन्ना खाँ भन्छन्—
“हामीलाई हाम्रै बलमा संघर्ष गर्नुपरेको छ। प्रहरी वा राज्यको कुनै उपस्थिती महसुस हुँदैन।”

५. स्थानीय–एसएसबी झडप—नेपाली नागरिकमाथि भारतीय मुद्दा

पछिल्लो समय स्थानीयवासी र भारतीय एसएसबीबीच झडप भयो। कुटाकुट भयो, केही घाइते भए। तर त्यसपछि के भयो?
नेपाली नागरिककै नाममा भारतले मुद्दा दर्ता गर्यो—झण्डै ३०–३५ जनाको सूची।
यसैबीच नेपाल प्रहरी?—फेरि मौन।
स्थानीय प्रहरी कार्यालयसँग घटनाबारे कुनै विवरण नै छैन।

६. प्रहरीको गैरजिम्मेवारी—‘सीमाको सुरक्षाभन्दा फाइलकै सुरक्षा’ महत्वपूर्ण?

यो सबै घटनाले एउटा गम्भीर प्रश्न उब्जाउँछ—
साफ सीमास्तम्भहरूसँगै नेपालको सुरक्षा संरचना किन यति अस्पष्ट, ढिलो, निष्क्रिय?

  • भारतीय सुरक्षाकर्मी हतियारसहित भित्रिन्छन्—प्रहरी मौन
  • स्थानीयवासी घेराबन्दी गर्छन्—प्रहरी मौन
  • मुद्दा परेका नेपाली नागरिकको सूची तयार हुन्छ—प्रहरी मौन
  • घटना रेकर्ड माग्दा—“थाहा छैन”, “डाटा छैन”, “रिपोर्ट छैन”

अर्को प्रश्न—
नेपाली भूमिमा हुने यस्ता घटनाको अभिलेखसम्म राख्न नचाहने सुरक्षा निकाय सुस्ताको रक्षा कसरी गर्ने?

७. “अन्त्य कहिले?”—सुस्ताको पीडा, तर राज्य मौन

सुस्तामा आज पनि भारतीय सुरक्षाकर्मी कुनै बेला पुलमा हिँडिरहेको देखिन्छन्, त कहिले गाउँभित्र सोधपुछ गर्दै।
स्थानीयवासी कहिलेकाहीँ आफ्नो बलमा समन्वय गर्छन्, झगडा सहन्छन्, मुद्दा खेलिन्छ—तर राज्य?—दूरदर्शकले हेरेझैँ टाढा।

सुस्ता नेपालको शरीरको एउटा संवेदनशील अंग हो।
यो अंगमाथि बारम्बार चोट लागिरहँदा पनि ‘रोकथाम’ शब्द प्रहरी प्रशासनका शब्दकोषमा छ कि छैन भन्ने शंका पर्न थालेको छ।

**निचोड प्रश्न:

भारतीय सुरक्षा अंगको निर्बाध प्रवेश कहिले रोकिन्छ?
नेपाली सुरक्षा निकायको गैरजिम्मेवारीको अन्त्य कहिले हुन्छ?
सुस्तालाई आफ्नो हीरा जस्तै हेर्ने राज्य नेतृत्व कहिले जन्मिन्छ?

यी प्रश्नहरूको उत्तर खोजिरहेकै छ—सुस्ता, र सुस्तामा दशौँ वर्षदेखि “सुरक्षा” बिना जीवन बाँचिरहेका नेपालीहरू।

===

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme