भारतमा विवाहको उमेर हद बढाइँदै

19

नयाँदिल्ली — भारत सरकारले महिलाका लागि विवाहको न्यूनतम उमेर हद २१ वर्ष तोक्ने निर्णय गरेको छ । अहिलेको भारतीय कानुनमा विवाहका लागि पुरुषको उमेर न्यूनतम २१ र महिलाको १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।

सरकारले त्यसलाई संशोधन गरेर महिला र पुरुष दुवैको विवाहको न्यूनतम उमेर २१ पुर्‍याउने तयारी गरेको हो । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार कानुनमा आवश्यक संशोधनपछि उक्त नियम लागू हुनेछ । कानुन संशोधनको प्रक्रियाले केही समय लिनेछ । सन् १९५५ मा बनाइएको कानुनमा महिलाको विवाहको उमेर हद १८ वर्ष तोकिएको थियो । त्यसको झन्डै ६७ वर्षपछि कानुनमा संशोधनको तयारी गरिएको हो ।

नेपालमा भने महिला र पुरुष दुवैका लागि विवाहको उमेर हद समान २० वर्ष कायम गरिएको छ । मुलुकी संहिता २०७४ मा महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था छ । संहिता कार्यान्वयनमा आउनुपूर्व विवाह गर्ने न्यूनतम उमेर महिलाको हकमा १८ वर्ष र पुरुषको हकमा २० वर्ष थियो ।

महिला र पुरुषबीच हरेक क्षेत्रमा समानताको कुरा उठिरहेका बेला विवाहको उमेरमा किन असमानता भनेर भारतमा प्रश्न उठ्दै आएको थियो । सरकारले बनाएको एक समितिले महिलाको विवाहको उमेर हद पुरुषसरह बनाउन सिफारिस गरेको थियो । समितिका अध्यक्ष जया जेटलीले प्रत्येक क्षेत्रमा लैंगिक समानता र सशक्तीकरणको कुरा भइरहेका बेला विवाहमा किन समानता हुन सक्दैन ? भन्ने प्रश्न गर्छिन् ।

सञ्चारमाध्यमसँगको कुराकानीमा उनले १८ वर्षमा विवाह गरिने कानुनी व्यवस्थाका कारण महिलाहरूले अध्ययन पूरा गर्न नपाउने, छिट्टै गर्भ धारण गर्नुपर्नेलगायत कैयन् समस्या देखिएको बताएकी छन् । छिटो गर्भधारणले आमा र बच्चाको पोषण स्तर तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेकाले विवाहको उमेर बढाउँदा त्यसमा कमी आउने विश्वास रिपोर्टमा गरिएको छ ।

एक रिपोर्टअनुसार भारतमा अहिले पनि २३.३ प्रतिशत महिलाको विवाह १८ वर्षभित्रै भइरहेको छ । त्यस्तो अवस्थामा कानुनमा पुन: संशोधन गरेर २१ वर्ष पुर्‍याउँदा गैरकानुनी रूपमा विवाह गर्नेको संख्या अझ बढेर जाने अनुमान छ ।

अमेरिकामा विवाहको उमेर महिला र पुरुष दुवैका लागि १८, बेलायतमा १७ देखि १८, चीनमा पुरुषका लागि २२ र महिलाका लागि २० वर्ष न्यूनतम पुग्नुपर्ने प्रावधान छ । त्यस्तै, जर्मनमा महिला र पुरुष दुवैका लागि १८, फ्रान्समा पनि १८, स्पेनमा १६ तथा बंगलादेशमा पुरुषका लागि २१ र महिलाका लागि १८ वर्षको उमेर हद तोकिएको छ ।