भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामान सहित पक्राउ

21
Close up shot of an over and under 12 bore shotgun

झापा, २२ माघ

मेचीनगर नगरपालिका-२ भृकुटी तितिरी चोकबाट भरूवा बन्दुक बनाउन प्रयोग हुने फलामको पाईप ७ थान, बारूद बनाउन प्रयोग हुने गन्धक जस्तो पदार्थ ३ किलो र बारूद बनाउन प्रयोग हुने सोडा जस्तो पदार्थ ५७ किलो सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-४ आमडाँगी बस्ने २० वर्षीय धनपती भारती र तेह्रथुम आठराई गाउँपालिका-५ बस्ने ६२ वर्षीय तेजमान लिम्बु रहेका छन् । बाहुनडाँगीबाट भृकुटीतर्फ जाँदै गरेको मे.१ ह ६०५६ नम्बरको टेम्पोमा लुकाई ल्याएको उक्त सामानहरु फेला परेको भन्ने खबर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीले ईलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएपश्चात उक्त कार्यालयबाट खटिएको प्रहरीले टेम्पो, टेम्पोका चालक धनपती र उक्त सामानको धनी तेजमानलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।