बर्दघाट, १९ मंसिर २०८२ ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ बर्दघाट नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाघरमा भव्य रूपमा सम्पन्न भएको छ। “स्वस्थ समुदाय निर्माणमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रम नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा आयोजित भएको हो।
कार्यक्रमका अवसरमा बर्दघाट नगरपालिका पश्चिम नवलपरासीले नगरभित्रका १६ वटै वडामा कार्यरत ४४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई स्मार्टफोन वितरण गरेको छ।
कार्यक्रममा बिरामी र स्वयंसेविकाबीचको सम्पर्क, सूचनाको छरितो आदान–प्रदान र सेवाको प्रभावकारिता बढाउने उद्देश्यले स्मार्टफोन वितरण गरिएको नगरपालिकाले जनाएको छ।
स्मार्टफोन वितरण कार्यक्रममा बोल्दै, नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष रूपमा खटिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कामलाई सहज बनाउन स्मार्टफोन उपलब्ध गराइएको बताउनुभयाे ।
उहाँले ६० वर्ष उमेर पुगेपछि सेवाबाट अवकाश लिनुपर्ने स्वयंसेविकालाई प्रदेश सरकारले प्रदान गर्ने ५० हजार रुपैयाँमा बर्दघाट नगरपालिकाले थप २ लाख ५० हजार रुपैयाँ सहयोग गरी कुल ३ लाख रुपैयाँ उपलब्ध गराउने नीति अघि सारिएको जानकारी दिनुभयो ।
नगरका भित्र रहेका ४४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले बालबालिकाको खोप, भिटामिन ‘ए’ वितरण, परिवार नियोजन, सरुवा रोग नियन्त्रण, सरसफाइ, पोषण अभियानलगायत कार्यक्रममा सक्रिय रहँदै नगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आईरहेका छन ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १६ का वडाध्यक्ष भिमकाजी गुरुङ, कार्यपालिका सदस्य सुमित्रा ढकाल, महिला स्वयंसेविका मिना गैरे, जहदाका स्वास्थ्यकर्मी मुक्तिराम वस्याल, महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख अप्सरा सुवेदी लगायतले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत ईश्वरी प्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने जनस्वास्थ्य निरीक्षक रिकमान श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। नगरभित्र १३ वटा गाउँघर क्लिनिक र २६ वटा खोप केन्द्र सञ्चालनमा रहेकाे छ ।















