बर्दघाट, २७ मंसिर २०८२ ।
दाउन्ने देवी महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेड बर्दघाट ४ बर्दघाट पश्चिम नवलपरासीको २८ औँ वार्षिक साधारण सभा शनिबार बर्दघाटमा सम्पन्न भएको छ।
कार्यक्रम संस्थाकाे अध्यक्ष देवी पौडेलको अध्यक्षता तथा संस्थाकाे सेयर सदस्य गौमाया गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गिरीले बाेल्दै, महिलाहरूलाई प्रत्यक्ष आय–आर्जनसँग जोड्ने निश्चित योजना सहितका व्यवसायिक तालिम सञ्चालन गर्न सके सहकारी अझ उत्कृष्ट बन्ने धारणा राख्दै, प्रमुख अतिथि गिरीले महिलाहरूले ५–१० रुपैयाँबाट संकलन गरि सहकारी शुरूवात गरेको बताउनुभयाे ।
कार्यक्रममा अध्यक्ष पौडेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा पछिल्लो समय सहकारीमा देखिएको आर्थिक मन्दी, अविश्वास र विभिन्न संरचनागत समस्याका कारण स्थानीय तहमा अनुशासित र मितव्ययी रूपमा सञ्चालन भएका सहकारीहरू पनि प्रभावित भएको उल्लेख गर्नुभयो। यस सहकारी संस्थाले विभिन्न संस्थाले गत वर्ष १० प्रतिशत र चालु वर्षमा ७ प्रतिशत लाभांश शेयर सदस्यहरूलाई वितरण गर्न सफल भएको जानकारी दिनुभयो।
यसैगरी, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै, लेखा संयोजक चन्द्रकला पाण्डे सापकोटाले, आर्थिक गतिविधिमा मंद गति, वित्तीय संस्थाबीचको प्रतिस्पर्धा तथा वैदेशिक रोजगारीले पारेको असरलाई मध्यनजर गर्दै संस्थाको दिगो विकासका लागि दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयाे ।
संस्थाको आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै, व्यवस्थापक हिरा शाहीले संस्थाको कुल आय–व्यय विवरण २५ करोड ५ लाख ७४ हजार ३ सय ९१ रुपैयाँ रहेको जानकारी दिनुभयो। साथै चालु आर्थिक वर्षमा संस्थाले ५६ लाख १३ हजार २ सय ४४ रुपैयाँ आम्दानी गर्न सफल भएको प्रतिवेदन सार्वजनिक गर्नुभएकाे थियो ।
कार्यक्रममा शेयर सदस्यहरूको तर्फबाट लक्ष्मी शर्मा, गङ्गा शाही लगायतले सहकारीले उल्लेखनीय काम गर्न सफल भएको बताउनुभयो ।
साधारणसभाकाे अवसरमा जेष्ठ शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट व्यवसायी, उत्कृष्ट समूह, उत्कृष्ट बाल बचतकर्ता तथा उत्कृष्ट ऋणी समेत गरी १४ जनालाई नगद सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
संस्थाले नगरपालिका भित्रका न्यून आयस्रोत भएका विद्यालयहरूमा अक्षयकोष स्थापना गर्दै आएको, परासीमा घरेलु हिंसाबाट पीडित महिलाहरूका लागि अल्पकालीन आश्रय स्थल सञ्चालन गरिरहेको तथा बर्दघाटमा विभिन्न प्रकारका झोला उत्पादन गर्दै आएको संस्थाकी उपाध्यक्ष रजनी शर्माले जानकारी दिनुभयो।
साे सभामा अध्यक्ष, सचिव, काेषाध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनहरू सभाले पारित गरेको छ ।
संस्थाकाे उपाध्यक्ष रजनी शर्माकाे स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य बिजु खाणले गर्नुभएको थियो।















