बर्दघाट, ३० चैत्र २०८२ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर –४ मा रहेको कुमुदिनी आवासीय अंग्रेजी माध्यमिक विद्यालयले आइएसओ लोगो प्राप्त गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच आइएसओ प्रतिनिधि सुदिप शर्माले विद्यालयलाई उक्त लोगो हस्तान्तरण गर्नुभएकाे हो ।
विद्यालयका सञ्चालक धीरज शर्मा बस्यालको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै, प्रमुख अतिथि खनालले सरकारले शैक्षिक सुधारका लागि दिएका निर्देशन सबै विद्यालयले अक्षरशः पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले केवल किताबी ज्ञान पर्याप्त नहुने भन्दै पाठ्यक्रममा सुधार गरी व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सोही अवसरमा आइएसओ प्रतिनिधि शर्माले विद्यालयले लोगो प्राप्तिका लागि आवश्यक मापदण्ड पूरा गरेको बताउँदै पूर्ण प्रमाणपत्रका लागि अझै केही सूचक पूरा गर्न बाँकी रहेको जानकारी दिनुभयो । ती सूचक पूरा भएपछि विद्यालयलाई औपचारिक रूपमा प्रमाणित गरिने उहाँको भनाइ थियो ।
कार्यक्रमका अध्यक्षसमेत रहेका विद्यालय सञ्चालक बस्यालले आइएसओ लोगो प्राप्ति अन्तिम लक्ष्य नभई गुणस्तरीय शिक्षातर्फको नयाँ यात्राको सुरुआत भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार शिक्षण–सिकाइ तथा व्यवस्थापन प्रणाली सुधार गर्न यसले मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै बाँकी सूचक पूरा गर्न सबैको सहयोग आवश्यक रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम ढुङ्गाना, वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारी, प्याब्सनका केन्द्रीय सल्लाहकार सुमन गोपाल आचार्य, जिल्ला अध्यक्ष डम्बर गुरुङ लगायतले आधुनिक, प्रविधिमैत्री र विद्यार्थी केन्द्रित शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालका अनुसार आइएसओ प्रमाणपत्र प्राप्त गर्न कुल ५१ सूचक पूरा गर्नु पर्नेमा हालसम्म विद्यालयले करिब ३० प्रतिशत सूचक पूरा गरिसकेको छ ।
विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक केदार चौधरीले गर्नुभएको थियो । २०४९ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म करिब १५ सय विद्यार्थी अध्ययनरत छन् । सोही अवसरमा विद्यालयले नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमसमेत सम्पन्न गरेको थियो ।















