भारतले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धार थाल्यो

27

नयाँदिल्ली — भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन थालेको छ । मंगलबार बिहान एयर इन्डियाको विशेष विमान युक्रेन पठाइएको छ । त्यस विमानमा २ सय ५६ जना भारतीय विद्यार्थीलाई ल्याइँदैछ । मंगलबार अबेर राति उक्त विमान दिल्ली आइपुग्ने जनाइएको छ । 

भारतले लगातार विशेष विमानहरु युक्रेन पठाउने सूचना जारी गरेको छ । पहिलो लटमा चार वटा उडानको कार्यसूची सार्वजनिक गरिएको छ । युक्रेन र त्यसको सीमावर्ती क्षेत्रमा २० हजारभन्दा बढी भारतीय रहेको अनुमान गरिएको छ । रुस र युक्रेनबीच तनाव बढेयता भारतले आफ्ना नागरिकलाई सुरक्षित रहन विभिन्न एडभाइजरी जारी गर्दै आएको थियो । रुसले सोमबार युक्रेनको दुई प्रान्तलाई स्वतन्त्र राज्य घोषणा गरेपछि कुनै पनि बेला युद्ध हुन सक्ने आशंका गरिएको छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा भारतका प्रतिनिधि टीएस तिरुमूर्तिले युक्रेन र त्यसको सीमावर्ती क्षेत्रमा रहेका २० हजार बढी भारतीय नागरिकको सुरक्षा चिन्ता आफूहरूको चासोका विषय रहेको जनाएका छन् ।

उनले युक्रेन र रुसको सीमामा देखिएको तनावलाई गहिरो चिन्ताको विषय बताएका छन् । रुसको कदमले त्यस इलाकामा शान्ति र सुरक्षालाई कमजोर बनाउने भन्दै उनले दुवै पक्षलाई संयम अपनाउन अपिल गरेका छन् । भारतले कसैको पक्ष नलिई ‘न्युट्रल’ कूटनीति अपनाएको छ । रुस र युक्रेनबीच देखिएको तनाव कूटनीतिक संवादबाट मात्रै समाधान गर्न सकिनेमा भारतले जोड दिएको छ ।

रुसको पछिल्लो कदमलाई लिएर अन्तर्राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण सुरु भएको छ । अमेरिका, बेलायत र जर्मनीलगायतका मुलुकले रुसमाथि विभिन्न खालका प्रतिबन्धहरू लगाउन सुरु गरिसकेका छन् । अमेरिका र नेटोमा आबद्ध मुलुक युक्रेनको पक्षमा देखिएका छन् ।

अमेरिका र रुस दुवैसँग नजिक रहेको भारत युक्रेन मुद्दामा कुनै पक्षमा लागेको छैन । राष्ट्र संघमा रहेका भारतीय कूटनीतिज्ञले दिएको बयानले पनि त्यस्तै संकेत दिएको छ । सबै पक्षलाई अन्तर्राष्ट्रिय सुरक्षा र शान्ति बनाइराख्न उनले अपिल गर्दै देखिएको तनावलाई छिटोभन्दा छिटो समाधानका लागि कूटनीतिक प्रयास बढाउनुपर्नेमा भारतले जोड दिएको छ ।