लुम्बिनी, २१ मंसीर ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले वडा न.१ मा निर्माण गर्न लागेको श्रीरामजानकी हनुमान मंदिरकाे भाेली मंसीर २२ गते हुने शिलान्यास कार्यक्रममा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लुम्बिनी आइपुग्नु भएकाे छ । हिन्दु परिषद नेपाल अध्यक्ष सन्ताेष पटेल पनि सहभागी हुनु हुनेछ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ खुनगाइं भगवानपुरमा रू. ५ कराेडकाे लागतमा श्रीरामजानकी हनुमान मंदिरकाे भाेली मंसीर २२ गते हुने शिलान्यास गर्न लागेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले बताए ।
शिलान्यास कार्यक्रममा विश्व हिन्दु परिषदका नेपाल अध्यक्ष सन्ताेष पटेलकाे समेत उपस्थिती रहने छ । उहां पनि राती नै लुम्बिनी पुग्ने कार्यक्रम रहेकाे छ ।
शिलान्यास कार्यक्रममा भारत अयोध्या नगर निगममा प्रमुख ऋषिकेश उपाध्याय, हनुमानगढ़ी मन्दिरका महंत, उत्तर प्रदेश सरकारका बिधायक डा. अनुपम पाण्डे लगायतका व्यक्तित्वहरू भाेली मंसीर २१ गते विहान ११ बजेसम्म आइपुग्ने र कार्यक्रममा सहभागी हुने बताइएकाे छ ।
मन्दिर शिलान्यासका लागि राम जन्मभूमि अयाेध्याकाे पवित्र माटो र सिताराम नामक ईटा ल्याइसकिएकाे छ । अयोध्या नगरका पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगर प्रमुख चौधरीलाई राम जन्मभुमिको पवित्र माटो र सिताराम इटा हस्तान्तरण गर्नुभएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले र भारत उत्तर प्रदेश स्थित प्रसिद्ध तिर्थस्थल अयोध्या नगर निगम बीच भगिनी सम्बन्ध स्थापित गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने कुरामा आपसी सहमति भएको थियाे । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीकाे नेतृत्वमा अयोध्या पुगेकाे टाेली र अयाेध्या नगर निगमका जनप्रतिनिधिहरुबीच मंसीर १७ गते साे सहमति भएकाे नगर प्रमुख चौधरीले अनलाइनजनतासित बताए ।
उनले अगाडि भने, अयाेध्याधाम र लुम्बिनीबीच भगिनी सम्बन्ध स्थापित गर्ने याेजना मुताबिक हामी अगाडि बढेका छाैं । गाैतम बुद्ध जन्मेकाे स्थल लुम्बिनी र भगवान श्रीरामचन्द्र जन्मेकाे स्थल अयाेध्याबीच भगिनी सम्बन्ध कायम गरि यस दुबै स्थललाइ सिस्टर सिटि ( Sister city ) काे रूपमा विकास गर्न चाहेका छाैं भने ।





