काठमाडौँ, २३ कार्तिक ।
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुमा विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढसरहेको बताएकी हुन् ।
मन्त्री भुसालले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत् क्रमश: बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।
मन्त्री भुसालले भनिन्, ‘उर्जा व्यापार पहिलेदेखि नै सुरु भएको हो । तर, हामीले बढी हुँदा पनि सप्लाई गर्न सकेका थिएनौं । अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत् खरिद गर्ने सहमति गरेर सप्लाई सुरु भइसकेको छ । त्यसैले विद्युत् व्यापारको सुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ ।’





