५ अफगान नागरिक निष्कासित, ६ हिरासतमै

29

काठमाडौँ, १५ कार्तिक ।

विद्रोही समूह तालिवानले सत्ताकब्जा गरेपछि भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल भित्रिएका पाँच अफगान नागरिकलाई अध्यागमन विभागले निष्कासन गरेको छ । निष्कासनसँगै उनीहरू श्रीलंकाको राजधानी कोलम्बो हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको प्रस्थान गरेका छन् ।

उनीहरू आइतबार साँझ श्रीलंकन एयरबाट कोलम्बो हुँदै त्यसतर्फ उडेका हुन् । उनीहरू एकै परिवारका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार विभागले ४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी पत्नी ३८ वर्षीया नाजिफा, छोरीहरू १७ वर्षीया मिसबाह जैनाव र १२ वर्षीया नुरुल हाया तथा ८ वर्षीय छोरा मोहम्मद रायनलाई उनीहरूकै रोजाइमा मेक्सिको पठाइएको हो ।

बिनाभिसा नेपाल प्रवेश गरे पनि उनीहरूका साथमा वैध राहदानी रहेको खुलेको छ । त्यसकै आधारमा नेपालमा रहँदाको अवधिलाई वैध बनाउन विभागले अनअराइभल भिसा दिएको थियो । कात्तिक ३ मा भारतको दिल्लीबाट सुनौली हुँदै बेलहिया नाकाबाट पसेका उनीहरू कात्तिक ४ मा काठमाडौं आइपुगेका थिए । अफगास्तिानबाट चार महिनाअघि उनीहरू उपचारका लागि भन्दै हवाईमार्गबाट दिल्ली आएका थिए ।

दिल्लीमा केही महिना बसेपछि नेपालमा संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयमार्फत ‘शरणार्थी कागजात’ बनाएर सेल्टर लिन आएका उनीहरू बिनाभिसा प्रवेश गरेको कसुरमा नेपाल प्रहरीको फन्दामा परेका थिए । काठमाडौं आएलगत्तै पाँचै जनाले यूएनएचसीआरको कार्यालयमा शरण लिएका थिए ।

यूएनएचसीआरले अस्थायी बसोबासको कागजात बनाइदिने प्रतिबद्धता जनाएको थियो । त्यसपछि सिनामंगलको एक होटलमा बसेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । यूएनएचसीआरले मंसिर २ मा अस्थायी बसोबासको कागजात प्राप्त गर्ने समय दिएको थियो तर त्यसअघि नै प्रहरीले उनीहरूसहित ११ अफगान नागरिकलाई पक्राउ गर्‍यो  ।

कात्तिक ८ मा पक्राउ परेका उनीहरूलाई सीआईबीले अध्यागमन विभागको जिम्मा लगाएको थियो । बाँकी रहेका ६ जनामाथि केही दिनमै उपयुक्त निर्णय लिइने विभाग स्रोतले जानकारी दिएको छ । कात्तिक ३ मा भित्रिएकाबाहेक अरू ६ अफगान नागरिक बेलहिया नाकाबाटै पसेर असोज १२ मा काठमाडौं आएका थिए ।

हाल अध्यागमन प्रहरीको हिरासतमा रहेका उनीहरूमा ३६ वर्षीय अमनुल्लाह मोहम्मदी, ३० वर्षीय अजमल सरिफ, २३ वर्षीय अकमल जाजाई, २४ वर्षीय रोमाल होतक, २१ वर्षीय हसन्नुल्लाह हस्हेमी र २६ वर्षीय इमरान वाली जादा छन् । अर्का एक अफगान होटलबाटै भागेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा रहेका ६ जनासँग भारतको नक्कली आधारकार्ड छ ।

उनीहरूलाई पठाउने विकल्पबारे छलफल भइरहेको विभागले जनाएको छ । अफगान नागरिकहरू भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न सक्नेप्रति सजकता अपनाउँदै सीमा नाकामा सुरक्षा निगरानी बढाउन गृह मन्त्रालयले अध्यागमन र सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । स्थल नाकाबाट नेपाल प्रवेश गर्ने भारतीयलाई पनि परिचयपत्र अनिवार्य गर्ने निर्णय सरकारले गरेको छ ।कान्तिपुरबाट