नवलपरासी, ३१ असाेज ।
सुन्दर एवम रमणीय स्थल मनकामना दर्श्नका लागि भारतका केन्द्रिय वित्त राज्य मन्त्री पंकज चाैधरी नेपाल आएका छन् । याे भ्रमण उनकाे नीजि भ्रमण भएकाे बताइएकाे छ ।
गोर्खास्थित सुरक्षा स्रोतका अनुसार उनी आज मनकामनाको एक होटलमा रात बिताउने छन् । भोलि बिहान पुजाआजा गरेर फर्किने कार्यक्रम रहेको छ । मनकामना मन्दिर र उनी बस्ने होटल आसपासमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।
मनकामना दर्शनका लागि नेपाल आएका चाैधरी ठुला उद्याेगपति विनोद चौधरीको होटल उन्नती कल्चरल भिलेजमा भेटघाटकाे कार्यक्रम रहेकाे बताइएकाे छ । चियापान पश्चात अाज सांझसम्म मनकामना मन्दिर पुग्ने जानकारी दिइएकाे छ ।
भारतीय जनता पार्टीका नेता चाैधरीसंगै तीर्थाटनमा उनका परिवारका सदस्य र केही भारतीय नेताकाे सहभागिता रहेकाे छ । मन्त्री चाैधरीका साथमा तीनवटा भारतीय गाडी र दुईवटा नेपाली गाडी रहेका छन् ।
अर्थमन्त्री पंकज चौधरी भैरहवाबाट स्थलमार्ग हुँदै नवलपरासी आएको र उनको उचित सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक प्रकाश मल्लले पुष्टि गरेका छन् । उनको भ्रमण धार्मिक तथा नीजि रहेको बताइएको छ ।





