नयाँ दिल्ली — दुवै देश नेपाल तथा भारतका सुरक्षा निकायका प्रमुखहरुबीच गएकाे मंगलबार भारतकाे नयाँ दिल्लीमा भएको छलफलमा सीमा क्षेत्रमा विभिन्न खाले नयाँ चुनौतिहरु समेत देखिन थालेकाले आपसी सहकार्यमा त्यसलाई निस्तेज पार्ने सहमति भएको छ ।
यसका लागि सुरक्षाबीच स्थानीय तहदेखि केन्द्रसम्ममा सूचनाहरुको आदान प्रदानलाई बढाउने, अपराध नियन्त्रणका लागि समयमै सूचना पठाउने, सबै तहका अधिकारीहरुबीच बैठक र छलफलहरुलाई बढाउने लगायत विषयमा बैठकको छलफल केन्द्रित थियो ।
खुला सीमाका कारण तेस्रो मुलुकका आपराधिक प्रवृत्तिका मानिसहरु नेपाल हुँदै भारत प्रवेश गर्न सक्नेप्रति भारतीय अधिकारीहरुको बढी चासो थियो । अफगानिस्तानमा तालिबानको नियन्त्रणसँगै भारत आफ्नो आन्तरिक सुरक्षालाई लिएर थप सशंकित बनेको छ । भारतको आन्तरिक सुरक्षामा खलल पुर्याउन खुला सीमाको फाइदा उठाएर आतंकी गतिविधिमा संलग्नहरुले नेपालको बाटो प्रयोग गर्नसक्ने तर्फ भारतीय अधिकारीहरु बढी सचेत देखिएका छन् ।
त्यस्तै, भारत तर्फबाट प्रवेश गरेर नेपालको आन्तरिक सुरक्षामा समस्या पार्ने व्यक्तिहरुबारे नेपाल पक्षले चासो प्रकट गरेको छ । दुई देशका सीमा सुरक्षामा खटिएका सुरक्षा बलको पाँचौ कोर्डिनेसन बैठकको नेतृत्व नेपालबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले गरेक थिए । बैठकको समापान बिहीबार हुनेछ । कार्यमुलक बैठक भने मंगलबार भएको छ । त्यसपछि नेपाली टोलीलाई अजमेर र जयपुर घुमाउन लगिएको छ ।
बैठकमा सहभागी दिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर आनन्दप्रसाद शर्माले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि कसरी नियन्त्रण गर्ने र त्यसमा सहकार्य बढाउने विषयमै बैठक केन्द्रित रहेको बताए । अवैध तरिकाले गरिने मानव ओसार पोसार, नक्कली नोट, लागूऔषध तस्करी लगायत अन्य अपराधजन्य कार्यलाई नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।
तर ती विषयहरु बैठकको एजेन्डामा नै नभएको बैठकमा सहभागी एक अधिकारीले बताए । ‘आजको बैठक सुरक्षा चासोसँग सम्बन्धित मात्रै थियो,’ बैठकमा सहभागी एक नेपाली सुरक्षा अधिकारीले भने ‘दुई देशको सरकार, परराष्ट्र मन्त्रालय वा राजनीतिक तहबाट हुने वा भइरहेको संवादमा हामी प्रवेश गरेनौँ ।’
सशस्त्र प्रहरी र एसएसबीबीच वर्षेनी नियमित रुपमा यस्ता बैठक हुँदैआएका छन् । आलोपालो दुई देशमा हुँदैआएको यो बैठक गत वर्ष कोभिडका कारण रोकिएको थियो । नेपाल र भारतबीच खुला सिमाना छ । दुवै तर्फबाट सीमामा खटिने सशस्त्र सुरक्षाकर्मीका कतिपय व्यवहारले समस्या भोग्नु परेको आम मानिसको गुनासो आउने गरेको छ ।
पाँचौं इन्डिया नेपाल कोर्डिनेसन बैठकमा नेपालको दुई महिना अगाडि दार्चुलामा तुइन तर्दै गरेका बेला एसएसबीका जवानले तुइन फुस्काइदिँदा नेपाली नागरिक महाकालीमा बेपत्ता भएका थिए। उक्त घट्नामा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट नै पठाएको छ । अखिल भारत नेपाली एकता समाजका सचिव आरबी खड्का सीमा क्षेत्रमा खानतलासीका नाममा दुवै पक्षका सुरक्षाकर्मीले सर्वसाधारणलाई सास्ती दिनेको गरेको बताउँछन् ।





