असाेज १२ ।
काठमाण्डाैबाट ७३ यात्रु लिएर विराटनगरका लागि उडेकाे बुद्ध एयरकाे जहाज पुन: काठमाण्डाैं फर्केर त्रिभुवन विमास्थलमा अवतरण गरिएकाे छ ।
जहाजकाे ल्याण्डिङ गियरमा समस्या उत्पन्न हुंदा बिराटनगरमा अवतरण हुन नसकेपछि काठमाण्डौ फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको हाे ।
जहाज झण्डै दुई घण्टासम्म आकाशमा हाेल्ड गर्नु परेकाे थियाे । जहाजको सामान्य अवतरण भएको र चालक दलका सदस्य तथा सबै यात्रुहरू सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ। बुद्ध एयरकाअनुसार टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य थिए ।
बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज काठमाण्डौ फर्किएको थियो । काठमाण्डौको आकाशमै झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको हो ।
जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।





