काठमाडौं, चैत २७ ।
पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन घट्दै गएको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै गण्डक अभियन्ता एवं गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासी पश्चिमका प्रवक्ता बृजराज कुशवाहाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमक्ष समस्या र समाधानसहितको सुझावपत्र पेश गरेका छन्।
यसअघि चैत १७ गते माननीय मन्त्री बिराज भक्त श्रेष्ठलाइ गण्डककाे विस्तृत समस्याबारे सरकारकाे ध्यानाकर्षणका लागि कुशवाहाले पत्र बुझाउदै गर्दा मन्त्री श्रेष्ठले गण्डक जलविद्युत केन्द्रको उत्पादन घट्नुकाे कारण तथा निवारणबारे रूचि राख्दै समाधानसहित विस्तृत अध्ययन सहितकाे सुझाव पेश गर्न आग्रह गरेका थिए। सोही अनुरूप कुशवाहाले विस्तृत अध्ययन तथा स्थलगत अनुभवका आधारमा सुझावपत्र पेश गरेका हुन्।
सुझावपत्रमा उल्लेख गरिएअनुसार, मूख्य गण्डक पश्चिमी नहरमा बालुवा जम्नु, मर्मत–सम्भारको अभाव, पुराना उपकरण तथा प्राविधिक व्यवस्थापनको कमजोरीका कारण हाल गण्डक जलविद्युत केन्द्रको उत्पादन करिब ३/४ मेगावाटमा सीमित भएको छ, जबकि यसको कुल क्षमता करिब १५ मेगावाट रहेको छ। यसले उपलब्ध स्रोतको प्रभावकारी उपयोग हुन नसकेको स्पष्ट देखाएको छ।
पत्रमार्फत कुशवाहाले जलविद्युत केन्द्रको तत्काल मर्मत–सम्भार, आवश्यक स्तरोन्नति तथा आधुनिकीकरणमार्फत पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। साथै, उत्पादन वृद्धि सुनिश्चित गर्न नेपाल–भारतबीच प्रभावकारी समन्वय र कूटनीतिक पहल आवश्यक रहेको पनि औंल्याइएको छ।
उनले समयसीमासहितको स्पष्ट कार्ययोजना बनाई हालको न्यून उत्पादनलाई १५ मेगावाटसम्म पुर्याउन ठोस कदम चाल्नुपर्ने बताएका छन्। ढिलाइ हुँदा राष्ट्रको ऊर्जा स्रोतको निरन्तर क्षति हुनेतर्फ समेत ध्यानाकर्षण गराइएको छ।
गण्डक अभियन्ता कुशवाहाले परियोजनाको सुधार तथा उत्पादन वृद्धि सम्बन्धी कुनै पनि पहलमा आफू सधैं सहकार्यका लागि तयार रहेको उल्लेख गरेका छन्।
गण्डक जलविद्युत केन्द्रको प्रभावकारी सञ्चालन र उत्पादन वृद्धि नेपालमा ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन्।
पत्र बुझाउने क्रममा कर्णाली जलअधिकार अभियन्ता मेघ बहादुर अाले समेतकाे उपस्थिती रहेकाे थियाे ।
















