लुम्बिनीका गुम्बाहरूमा शुरु भयो शुद्ध विनय परम्पराअनुसारको बर्खाबास
प्रहलाद यादव लुम्बिनी,– बुद्ध धर्मका थेरवाद परम्परामा आधारित भिक्षुहरूले आजदेखि अर्थात् असार पूर्णिमादेखि तीन महिनासम्मको बर्खाबास आरम्भ गरेका छन्। यस अवधिमा भिक्षुहरू गुम्बा वा विहारभित्रै बसेर विनयका कठोर नियमहरू पालना गर्दै धार्मिक साधनामा समर्पित हुने गर्दछन्।
बर्खाबास परम्परा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि सुरू गर्नुभएको मानिन्छ। बुद्धले बर्खायाममा घुमफिर नगरी एउटै स्थानमा बसेर साधना गर्ने, जनावरहरूलाई च्यापिएर मारिने सम्भावनाबाट जोगिनु, र स्थानीय समुदायका लागि धर्मदेशना गर्ने उद्देश्यले यस परम्पराको शुभारम्भ गर्नुभएको थियो।
भिक्षुहरूलाई शुद्ध विनय अनुसार कोठामै बास बस्नुपर्ने, जथाभावी यात्रा नगर्नु पर्ने, औषधि उपचारको आवश्यकता परेमा मात्रै बाहिर निस्कनु पर्ने, जे पायो त्यही नछुने, र बसेको स्थानमा नै धर्मदेशना गर्नुपर्ने नियमहरूको कडाईका साथ पालना गर्नुपर्ने उल्लेख बौद्ध संघमा गरिएको छ।
यस अवधिमा उपासक र उपासिकाहरूले भिक्षुहरूको खान, बस्न, लगाउन आवश्यक सबै सामग्रीहरूको व्यवस्था मिलाउने चलन छ। बर्खाबासको अन्त्यमा विशेष कार्यक्रमको आयोजना गरी भोजन दान, औषधि सेवा तथा चिवर (गाउने लुगा) दान गर्ने परम्परा रहिआएको छ।
लुम्बिनीस्थित थेरवाद गुम्बा र विहारहरूमा अहिले भिक्षुहरूले यो परम्परागत बर्खाबास आरम्भ गरिसकेका छन्। गुम्बाहरूमा सादा वातावरण, मौन साधना र धार्मिक अनुशासनको विशेष अनुशरण देखिएको छ।
बौद्ध अनुयायीहरूका लागि बर्खाबास केवल परम्परा मात्र नभई आत्मशुद्धि, अनुशासन र ज्ञानको अभ्यास गर्ने महत्वपूर्ण अवसर पनि हो। यसरी थेरवाद परम्पराका भिक्षुहरूलाई शुद्ध विनयको मार्गमा दृढ रहँदै तीन महिनासम्मको साधनामा रहन देखिनु, बौद्ध धर्मको गहिरो आध्यात्मिक चेतनाको प्रतीक मानिएको छ।
– अनलाइन समाचार डेस्क















