बर्दघाट, २० माघ ।
पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं ४ मा रहेको कुमुदिनी आवासीय माध्यमिक विद्यालयकाे ३२ औँ वार्षिकोत्सव तथा ट्यालेन्ट शो कार्यक्रम मनाएको छ ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले प्रमुख अतिथिकाे आसनबाट बाेल्दै, वर्तमान समयमा निजी विद्यालयले विद्यार्थी उत्पादनकालागि उल्लेखनीय याेगदान रहेको बताउदै, विद्यालयले व्यवहारिक ज्ञान दिनुपर्ने कुरा व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई पढाउने भन्दा पनि सिकाउने कुरामा जोड दिनु पर्ने र आगामी दिनमा संस्कार सहितको शिक्षालाई अँगाल्ने अनि शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्नेमा जाेड दिनुभयो ।
विद्यालयका संस्थापक धिरज शर्मा बस्यालले कुमुदिनी उत्कृष्ट विद्यालय रहेको चर्चा गर्दै, अब शिक्षालाई डिजिटल प्रविधिकाे माध्यममा जोडिँदै लगिने कुरा बताउनुभयो । उहाँले शिक्षक विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्धबाट गुणस्तरीय शिक्षा प्राप्त हुने बताउनुभयो।
विद्यालयका प्राचार्य रेश्मिराज बश्यालले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै, विद्यार्थीहरूलाई किताबी ज्ञानसंगै व्यवहारिक ज्ञान प्रदान गरिएको जिकिर गर्नुभयो । विद्यालयमा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम प्रदान गरी उत्कृष्ट नतिजा ल्याउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा विद्यार्थी र शिक्षकहरुको बिमा विद्यालयले गरि दिने प्राचार्य बस्यालले बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला शर्माले विद्यालयमा सबै प्रकारका सेवा सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै, विद्यालयमा सिकेका व्यवहारिक ज्ञान र अतिरिक्त क्रियाकलाप पेसागतरुपमा विकास भएको जानकारी गराउदै सम्पूर्ण अभिभावक, सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो।
अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन केदार चौधरी र सबिता वानियाले संयुक्त रुपमा गर्नुभएको थियोे ।
विद्यालयलले दुई दिनसम्म आफ्नो वार्षिक उत्सव मनाएको अवसरमा विद्यालयका विद्यार्थीहरूले नृत्य, नाटक, गीत, गजल, कविता लगाएतका प्रस्तुति प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले खाना महोत्सव, प्रयोगशाला विज्ञान प्रदर्शनी गरेका थिए ।















