उपमन्त्री जियाले शिविरको भौतिक एवं अन्य सुविधाका विषयमा विषयबारे जानकारी लिएकी छन्। उपमन्त्री जियाले शिविरमा रहेका शरणार्थीहरुको स्वास्थ्य, शिक्षा लगायतका विषयको समेत अभिरुचिपूर्वक जानकारी लिएको त्यहाँ रहेका एक तिब्बती अगुवाले अन्नपूर्णलाई जानकारी दिए।
शिविरमा बस्ने तिब्बती शरणार्थीसँग उपमन्त्री जियाले केहीबेर अन्तर्क्रिया समेत गरेकी थिइन्। तिब्बती समुदायका अगुवाहरुले शरणार्थी परिचयपत्र नहुँदा कतिपय तिब्बती शरणार्थीहरु मानव अधिकारका आधारभुत कुराहरुबाट समेत वञ्चित हुनु परेको उपमन्त्री जियालाई सुनाएका थिए।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी अमेरिकी उपमन्त्री जिया तिब्बती शरणार्थी शिवरमा जाने विषयबारे अनभिज्ञता प्रकट गरेको थियो। प्रवक्ता सेवा लम्सालले उपमन्त्री जियाको व्यक्तिगत भ्रमणबारे आफूहरुलाई जानकारी नहुने बताएकी थिइन्। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री खाणलाई भेटेर अमेरिकी उपमन्त्रीको भ्रमणबारे चासो राखेकी थिइन्। राजदूत यान्छीले नेपालले लिएको एक चीन नीतिको अडान कायमै रहनेमा आफू विश्वस्त रहेको गृहमन्त्री खाँणसँग भनेकी थिइन्।
जवाफमा गृहमन्त्री खाँणले नेपाल–चीन सम्बन्ध र चीनको सुरक्षा मामिलामा आफू संवेदनशिल रहेको जवाफ दिएका थिए। तिब्बती मामिलाका संयोजक जिया भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर शुक्रबार नेपाल आएकी हुन्। हिमाञ्चल प्रदेशमा अमेरिकी उपमन्त्री जियाले तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसँग भेट गरेकी थिइन्। जिया नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपमन्त्री हुन्।
सन् १९९५ पछि नेपाल सरकारले तिब्वती शरणार्थीहरुलाई ‘शरणार्थी परिचय पत्र’ दिएको छैन। शरणार्थी परिचयपत्र नहुँदा नेपालमा रहेका तिब्बती शरणार्थीहरु रोजगार हुनबाट समेत बञ्चित हुँदै आएको नेपालमा रहेका शरणार्थीका अगुवाहरुले बताएका छन्। उपमन्त्री जियाले प्रधानमन्त्री देउवालगायत नेपाली उच्च अधिकारीहरुसँगको भेटमा शरणार्थी परिचपत्र पत्र नपाएका तिब्बतीहरुलाई तत्काल शरणार्थी परिचय पत्र दिन आग्रह गर्ने सम्भावना रहेका परराष्ट्र स्रोतले बताएको छ।





