वीरगन्ज महानगरको मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच प्रतिस्पर्धा

10

न्युज डेस्क, असाेज ८ ।

स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरको मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच निक्कै रोमान्चक प्रतिस्पर्धा जारी छ । राजपा र कांग्रेसबीच कडा टक्कर देखा परेको छ । मतगणना शुरु भए देखि नै मेयरमा अग्रता लिइरहेको काँग्रेसलार्इ शनिवार साँझ साढे ६ बजे देखि फोरम नेपालले अग्रता लिए पनि शनिवार राति ११ बजे देखि फेरि काँग्रेसले नै अग्रता लिएको छ ।

तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेकोे वीरगंजमा यस्ताे रोमान्चक प्रतिस्पर्धा देखिएको हाे । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपालबीचको प्रतिस्पर्धा निक्कै रोमान्चक बनेको हो ।

शनिवार साँझ साढे ६ बजे सम्म ३८५१३ मत गनि सक्दा मेयरमा फोरम नेपालका विजय सरावगी काँग्रेसका अजय द्धिवेदी भन्दा ७२ मतले अगाडि थिए । सरावगीले ८४१० मत प्राप्त गर्दा द्धिवेदीले भने ८३३८ मत पाएका थिए । तर शनिवार राति ११ बजे ३९७३५ मत गनि सक्दा काँग्रेसका द्धिवेदीले फोरम नेपालका सरावगीलार्इ ८७ मतले पछाडि पार्दै फेरि अग्रता लिन सफल भएका छन् ।

पछिल्लो परिणाम अनुसार काँग्रेसका द्धिवे्दीले ८६८८ मत प्राप्त गरेका छन् । दोश्रो स्थानमा झरेका फोरम नेपालका सरावगीले भने ८६०१ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहको भने ६२६८ मत छ । नेकपा एमालेका बसरुद्धिन अन्सारी ४२७० मतका साथ चौथो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ४०८९ मतका साथ पाँचौ स्थानमा छन् । नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव भने ३३२८ मतका साथ छैठौं स्थानमा छन् ।

वीरगन्ज महानगरपालिकाको उपमेयरमा अग्रता कायम राखेको नेपाली काँग्रेसले फोरम नेपालसंगको मतान्तर भने फराकिलो बनाउँदै लगेको छ।

उपमेयरमा काँग्रेसकी शान्ति कार्की ९६४५ मतका साथ अगाडि छिन् । यस्तै उपमेयरमा फोरम नेपालकी पिंकी यादव ८०१५ मतका साथ दोश्रो स्थानमा र राजपाकी रम्भा मिश्रा ५२८० मतका साथ तेश्रो स्थानमा छिन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य ५०३२ मतका साथ चौथो स्थानमा, माओवादी केन्द्रकी दुर्गा क्षेत्री २७५८ मतका साथ पाँचौ स्थानमा र लोकतान्त्रिक फोरमकी रिङ्कु देवि यादव २५०४ मतका साथ छैठौ स्थानमा छिन् ।

वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये १३ वटा वडाको नतिजा आएको छ । अहिले सम्म वडा नम्बर १, २, ३, ४, ५, ९, २६, २७, २८ , २९, ३०, ३१ र ३२ को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

जसमा वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता, वडा नम्बर २ मा फोरम नेपालका अब्बास मिया, वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार, वडा नम्बर ४ मा काँग्रेसका जगत साह कान्, वडा नम्बर ५ मा राजपाका प्रदीप चौरसीया, वडा नम्बर ९ मा फोरम नेपालका मनोज कलवार वडा नम्बर २८ को अध्यक्षमा फोरम नेपालकी गिरीजा देवी, वडा नम्बर २६ मा काँग्रेसका शम्भु मिश्रा, वडा नम्बर २७मा एमालेका प्रदीप यादव, वडा नम्बर २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी, वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी, वडा नम्बर ३१ मा काँग्रेसका चुमनदास चौधरी र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपाका रियाज अहमद मिया विजयी भएका छन् ।