लमजुङ — जागिरको सिलसिलामा टाढा रहेकाहरू गाउँघर फर्केर आएपछि लमजुङका गाउँहरूमा दसैंको रौनक छ । भारतीय सेनाका कार्यरत क्व्होलासोंथर गाउँपालिका–४ भुजुङ कमागाउँका विशाल गुरुङ दुई साताअघि भारतको कश्मीरमा थिए ।
दसैं मान्नकै लागि यसपटक बिदा मिलाएर उनी घर आएका छन् । ‘गाउँ आएर साथीसंगीसँग रमाइलो गरिएको छ । पिङ राख्ने, नाचगान गर्ने, भोजभतेरमा सहभागी भएको छु,’ उनले भने, ‘वर्ष दिनमा एकपल्ट आउने चाडमा गाउँ आउनै पर्यो । अर्को साल के हुन्छ थाहा छैन ।’
उनका अनुसार गाउँमा रोटे पिङ, लिंगे पिङ थापिएको छ । गाउँघर र बाटोघाटो सरसफाइ गरिएको छ । कमेरोले लिपपोत गरिएको छ ।
दोर्दी गाउँपालिका ६, ताँजे घर भई भारतीय सेनामा कार्यरत सुजन घले दसैंमा गाउँघर नै रमाइलो हुने गरेको बताउँछन् । उनी मंगलबारमात्रै गाउँ आएका छन् । सोमबार बेंसीसहरमा आफ्ना क्याम्पसका साथीसंगी भेटेर सुखदुःख साटासाट गरेको उनले बताए ।
‘दसैंमा परदेशभन्दा गाउँ नै रमाइलो हुन्छ । सकेसम्म पल्टनबाट सबै गाउँ आउन खोज्छन् । धेरैको बिदा मिल्दैन । हामीलाई भने मिल्यो । दसैंमा गाउँ आउन पाएकामा निकै खुसी छु,’ उनले भने ।





