सहबान अन्सारी, साउन ६
नवलपरासीको सीमावर्ती क्षेत्रमा मटर ( क्राउन ) तस्करी मौलाएको छ ।अबैधरुपमा ओसारपसार गर्न लागिएका लाखौं मूल्यका मटर दिनहुँजसो प्रहरीले नियन्त्रणमा लिएको घटनालाई यहॉ मटर तस्करीको बढ्दो अवस्था ऑकलन गरिएको हो ।
तस्करी मौलाएसंगै नियन्त्रणमा प्रहरीले आफ्नो सकृयता पनि बढाएको छ । जसका कारण प्रहरी बिभिन्न ठाउँबाट दिनहुँ तस्करीको सामान नियन्त्रणमा लिन सफल पनि भएको छ ।
यसैक्रममा मंगलवार दिउँसो सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ( बीएसपी ) गुठी परसौनी र प्रहरी चौकी बसहियाको संयुक्त गस्ती टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ७ जगरन्नाथपुरबाट अबैधरुपमा ट्याक्टरमा ल्याउदै गरेको ठूलो परिमाणको मटर ( केराउ ) नियन्त्रणमा लिएको छ ।
टोलीले करिब ४ लाख २५ हजार बराबरको १ सय बोरा मटर (केराउ) नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलले जानकारी दिए । नियन्त्रणमा लिएको मटर ( केराउ) आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।