काठमाण्डाैं । भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएकाे छ । एक विज्ञप्ति जारी गर्दै नेपाल स्थित भारतीय राज दुतावासले जनाएकाे हाे ।
दुतावासले जारी गरेकाे विज्ञप्तिमा बुंदागत रूपमा विवरण प्रस्तुत गरेकाे छ ।
१. भारतीय राजदूतावास, काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गर्यो ।
२. नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय अर्थमन्त्री श्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चावी हस्तान्तरण गर्नुभयो । सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।
२. उपहारस्वरुप आज हस्तान्तरण गरिएका कूल १०१ सवारी साधन मध्ये दुईवटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
४. नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
५. कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूतले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिदै आएको पहलमध्येको एक रहेको बताउनुभयो । वहाँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिनुभयो । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि वहाँले उल्लेख गर्नुभयो ।
६. सोही अवसरमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता-जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताउनुभयो । साथै यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकै फाइदाजनक हुने बताउनुभयो ।
७. सन् १९९४ यता भारत सरकारले आजको सहित हालसम्म नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ ।