११ जिल्लामा नेपाली काङ्ग्रेसको निर्वाचन प्रक्रिया सुरु

52

शनिबार, १६ असोज २०७८,

विभिन्न ११ जिल्लामा नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचनबाट जिल्ला सभापति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । आज ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, मनाङ, मुस्ताङ, बाजुरा, बझाङ, रामेछाप, गोरखा र रुकुमपूर्वमा जिल्ला अधिवेशन सुरु भएको हो ।

गोरखा बाहेकका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिको निर्वाचन सँगसँगै हुने निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए । काङ्ग्रेसको एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा सभापतिको उमेदवार हुनका लागि क्षेत्रीय प्रतिनिधि र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रावधान छ ।

११ जिल्लाबाट करिब ३ सय महाधिवेशन प्रतिनिधि छनोट हुने बताइएको छ ।