कञ्चनपुर, २१ कार्तिक ।
महिलाहरू घर लिपपोतमा व्यस्त छन् । पुरुषहरू खेतीपातीको काममा जुटेका छन् । काठ र माटोले बनेका घरहरू लिपपोत गरेर चिटिक्क पारिएका छन् । आँगन पनि लिपपोत गरेर निकै सुग्घर बनाइएको छ । भीमदत्त नगरपालिका —१४ र १६ वडाको नयाँ कटानस्थित रानाथारु बस्तीमा केही दिनयता यस्तै चहलपहल बढेको छ ।
रानाथारु समुदायले तिहारलाई ‘देवारी (तिहार)’ पर्वका रूपमा मनाउँछन् । यही देवारी मनाउन रानाथारू बस्तीमा केही दिनदेखि चहलपहल बढेको हो ।
‘देवारीका लागि लिपपोत चलिरहेको छ,’ आफ्नो घर आँगन लिप्दै गरेकी शान्ति रानाले भनिन्, ‘जेठमा लिपपोत गरेपछि बर्खामा पखालिएको हुन्छ, देवारी पनि आउँछ त्यही भएर लिपपोत गर्छौं ।’ उनका अनुसार असोज शुक्लपक्षमै कुलदेवताको थानमा लिपपोत गरेपछि सबैले घरघरमा लिप्छन् । त्यतिबेला लिपपोत गर्न नपाएकाहरू देवारीको अगाडि लिपपोत गर्छ ।
पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका रानाथारू समुदायको मुख्य पर्व होली हो । उनीहरूले करिब डेढ महिनासम्म होली खेल्ने गर्छन् । होलीपछिको अर्को मुख्य चाड देवारी हो । कात्तिक शुक्लपक्षको दोस्रो दिन मनाइने भएकाले पनि यसका नाम देवारी रहन गएको हो ।
देवारीका दिन घरका सबैभन्दा जेठो महिला राति दुई/तीन बजे भाले बास्नुभन्दा अगाडि नै उठछिन् । नुहाइधुवाइ गरेर सुप्पो र पन्यू लिएर घर बाहिर निस्किन्छन् । ‘इशु आओस, दरिद्र जाओस्’ भन्ने गीत गाउँदै पन्यूले सुप्पो बजाउँदै घर बाहिर र भित्र परिक्रमा गरेपछि कुलदेवताको पूजा गरिन्छ । पूजा गर्दा कतिपयले कुखुराको बलि दिन्छन् भने कतिपयले बलि दिँदैनन् । त्यसपछि बिहान भएपछि बलि दिएको कुखुराको मासुसंँगै भात, दाल र तरकारी पकाइन्छ ।





