माेर्चाकाे प्रथम ऐतिहासिक सम्मेलन बर्दघाटमा हुने

41

पप्पु रेग्मी, बर्दघाट ।

अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाले प्रथम राष्ट्रिय सम्मेलन पश्चिम नवलपरासी जिल्लाको बर्दघाट ४ बर्दघाटमा गर्ने भएको छ । मोर्चाले शनिवार बर्दघाट–२ चिसापानीमा पत्रकार भेटघाटको आयोजना गरेर उक्त जानकारी दिएको हो ।

मोर्चाका केन्द्रीय संयोजक कमल चौधरीले बर्तमान अवस्थामा राष्ट्रियता जनतन्त्र र जनजिविकाको सवाल जटिल बन्दै गएको चर्चा गर्दै भष्ट्रचारी, महंगी, कालो बजारीको चपेटामा जनता पिसिल्दै गएको पत्रकार भेटघाट कार्यक्रममा साे कुरा बताएका हुन ।

चाैधरीले बेरोजगारीको अवस्था बिकराल बन्दै जादाँ लाखौ युवाहरु बिदेशिन बाँध्य भएको बताउदै, गाउँघरमा मिटर ब्याजी साहुहरुको फन्दामा पर्दा आर्थिक क्षमता कमजोर भएका किसानहरु माथि शोषण गर्दा किसानहरू घरबार बिहिन हुदा समेत राज्य मुकदर्शक भएर बसेको बताए । उनले राज्यले उत्पिडित वर्गलाई सहुलियत दरमा ऋण प्रदान गर्ने ब्यवस्था नगर्दा लाखौ भुमीपुत्र किसानहरु लघुबित्त जस्ता चर्काे ब्याज असुल गर्ने संस्थाहरुको चंगुलमा फसेर अर्काे थप समस्यामा परेको बताए ।

पत्रकारसंगकाे कुराकानीमा फरक प्रसंगमा नेता चौधरीले लिम्पियाँधुरा लिपुलेक र कालापानी लगायतका सीमा विवाद ज्यूँ का त्युँ रहेको जानकारी दिदै बाह्य शक्ति केन्द्रको दबाबमा बिदेशी नागरिकलाई बहानामा नागरिकता दिने नागरिकता बिधेयक ल्याइएकाे छ भने यहाँका आदिवासी जनजाति, भुमिहीन सुकुम्बासीहरुले नागरिकता नपाएर राज्यको सबै सुबिधाबाट बन्चित भएकाे दाबी गरे ।

“थारु राष्ट्रिय मुक्ति आन्दोलन, जातीय क्षेत्रीय स्वशासन, आत्मनिर्णयको अधिकार संघीयताको आधार” भन्ने मुख्य नारा सहित अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन यही मिति २०७९ साल असोज ७ र ८ गते बर्दघाट–४ दिब्यनगरको दिब्य शान्ति गुम्बाको सभाघरमा हुने जानकारी दिए । सम्मेलनले नयाँ नेतृत्व सहित पश्चिम नवलपरासी घोषणा पत्र जारी गर्ने सम्मेलन आयोजक समितिका सदस्य दुर्गा नारायण थारुले जानकारी दिए ।

अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चा अखिल नेपाल आदिवासी जनजाति महासंघ अन्तरगतको एउटा एकल जातीय मोर्चा हो । कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेय, सेक्रेटरी छविलाल खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी लगायतको आतिथ्यता रहेकाे थियो ।