बर्दघाट, पश्चिम नवलपरासी । भूमिहिन नागरिकहरूको आवास समस्या समाधान गर्ने उद्देश्यले बर्दघाट–१०, मोैराहाटाँडीमा एक दिवसीय छलफल तथा अन्तरक्रिया कार्यक्रम साेमवार सम्पन्न भएको छ।
थारु मिलन केन्द्र नेपाल र उपदान कलेक्सन सेन्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम थारु मिलन केन्द्र नेपाल, पश्चिम नवलपरासीका अध्यक्ष देवानन्द फौजदारको अध्यक्षतामा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कंडेलले सुकुम्बासीको नाममा केही व्यक्तिहरूले व्यापार गर्ने प्रवृत्ति देखिएको बताउँदै, यसले गर्दा वास्तविक भूमिहिनहरूको पक्षमा काम गर्न कठिनाइ भइरहेको उल्लेख गर्नुभयो।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगर क्षेत्रमै करिब ९ हजार ३ सय ४५ जना भूमिहिन सुकुम्बासी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार, तीन पुस्तासम्म जग्गा नदेखिएका करिब ९ सय व्यक्तिहरूको विवरण सङ्कलन गरिएको बताउनुभयो ।
उपदान कलेक्सन सेन्टरका संयोजक राधेश्याम चौधरीले अमेरिकामा बसोबास गर्ने नेपालीहरूले खाजा–नास्तामा खर्च हुने रकम बचत गरी पठाएको सहयोगबाट ७ सय १७ घरधुरी भूमिहिन नागरिकका लागि आवास निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रम थारु मिलन केन्द्र नेपाल, पश्चिम नवलपरासीका सचिव शत्रुधन चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपदान कलेक्सन सेन्टरकी प्रतिनिधिसहित सहभागी मधुरा प्रसाद चौधरी, टोप नारायण चौधरी, नरेश चौधरी, पिताम्बर प्रसाद चौधरी लगायतले आ–आफ्ना धारणा राखेका थिए।
स्थानीय तह, नागरिक समाज र प्रवासी नेपालीबीचको सहकार्यबाट भूमिहिनको आवास समस्या समाधान हुने विश्वास कार्यक्रममा व्यक्त गरिएको गीता चाैधरीले बताउनुभयो ।















