भारत सरकारका केन्द्रीय मन्त्री गडकरी नेपाल आउँदै

29

काठमाडौँ, २६ कार्तिक ।

भारत सरकारका केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेता नितिन गडकरी यसै महिना नेपाल आउने भएका छन् ।

पतञ्जलि योगपीठ नेपालका प्रमुख शालिग्राम सिंहका अनुसार मन्त्री गडकरी मंसिर २ गते नेपाल आउन लागेका हुन् । उनी पतञ्जलि योगपीठ नेपालको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् । उक्त अवसरमा योगागुरु रामदेव र आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम छ ।

मन्त्री गडकरीले प्रधानमन्त्री शेरबहादुर देउवा, र विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको बताइएको छ । पूर्व भाजपा अध्यक्षसमेत रहेका गडकरी अहिले सडक परिवहन तथा राजमार्ग मन्त्री छन् ।

मंसिर २ गते पतञ्जलि योगपीठ नेपालद्वारा सञ्चालन हुन लागेको उक्त कार्यक्रममा ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ नामक धार्मिक च्यानलको उद्घाटन हुने पनि बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ती टेलिभिजन च्यानलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।