पप्पु रेग्मी, बर्दघाट, २९ माघ २०८१ ।
पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले नगर गान बनाउने भएको छ । बर्दघाट नगरले बर्दघाटकाे पहिचान झल्कने गरि नगर गान पहिलो पटक निर्माण गर्न लागेको हो ।
बर्दघाट नगरपालिकाको पत्रानुसार, बर्दघाट नगरपालिकाको पहिचान झल्किने गरी बढीमा साठी शब्दमा नबढ्ने गरी ३० दिन भित्र लिखित रूपमा नगर गान प्रज्ञा प्रतिष्ठानले नगरलाई उपलब्ध गराई जानकारी दिन प्रज्ञा प्रतिष्ठानलाई आव्हान गरेको पत्रमा उल्लेख गरेकाे कार्यालय सहयोगी शक्ति पाैडेलले बताउनुभयो ।
” नगरकाे भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी बर्दघाट नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई पत्राचार गरि जिम्मा दिएको प्रज्ञाका कुलपति डा. घनश्याम नाैपाने “परिश्रमी” ले जानकारी दिनुभयो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगर गानको मूल्याङ्कन र सिफारिसका लागि ५ सदस्यीय समिति चयन गरिएकाे छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने “परिश्रमी” को संयोजकत्वमा चयन गरेको समितिमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल सदस्य, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल सचिव रहनु भएकाे छ भने संगीतविद दुईजनालाई थप सदस्यमा चयन गरिने भएको छ ।
संयोजक न्यौपानेका अनुसार नगर गानकालागि प्रज्ञा प्रतिष्ठानले काम अगाडि बढाएको जानकारी दिदै, उहाँले “नगरले दिएको जिम्मेवारी हामी गहन रुपमा लिँदै नगर गानको निर्माणमा लागि परेका छौँ ” भन्नुभयो । प्रज्ञा प्रतिष्ठानले नगरगानका इच्छुक स्रष्टाहरूसँग आह्वान गर्दै सार्वजनिक सूचना जारी गरिसकेकाे छ, कुलपति तथा संयाेजक डा. न्यौपानेले भन्नुभयो । नगर गानहरू उपलब्ध भइसकेपछि मूल्याङ्कन समितिले छनाेट गर्ने र आवश्यक परे परिमार्जन समेत गरी उत्कृष्ट नगरगान नगरपालिकालाई सिफारिस सिफारिससहित बुझाउने डा. न्यौपानेको भनाइ रहेको छ ।















