काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भएका छन्। देशभर १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४९४ उम्मेदवारी दर्ता भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन-३ मा हार्ने भय देखेपछि चुनाव लड्न गोर्खा पुगेका छन्। उनले यसअघि बाबुराम चुनाव लड्दै आएको गोरखामा उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामले सधैं पदमा टाँसिरहने प्रवृति हटाउनुपर्छ भन्दै आफू संसदीय निर्वाचनमा उम्मेदवार नबनेको भन्दै प्रचण्डलाई व्यंग्यसमेत गरेका छन्।
प्रचण्डकै छेउमा उभिएर प्रचण्डप्रति व्यंग्य गरेका बाबुरामले काठमाडौंमा आफ्नो छोरीको सिट सुरक्षित गर्न गोरखामा बाबुरामलाई चुनाव लडाएका हुन्। तर, प्रचण्डलाई गोरखा पनि त्यति सहज भने छैन।
अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नम्बर ३ छाडेर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई उठ्ने गरेको गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएपछि केन्द्रीय समिति सदस्यहरुसँग छलफल गर्दै धेरै मिहनत आवश्यक रहेको बताएका छन्।
यसअघि उक्त क्षेत्रबाट माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठ पराजित हुँदै आएका थिए। प्रचण्डले सुरूमा माओवादी गोरखाका नेताहरू तथा स्थानीय चुनावमा माओवादीबाट निर्वाचित प्रमुखहरू सँग छलफल गरेका थिए। त्यसपछि उनले सत्ता गठबन्धनका जिल्लामा रहेका नेताहरूसँग छलफल गरेका छन्।
प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथसाथै राखेर चुनावी छलफल गरिरहेका छन्।
प्रतिनिधि सभातर्फ गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार कांग्रेसका राजेन्द्र बजगाईं, प्रदेश सभातर्फ उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, माओवादीबाट प्रदेश सभा उम्मेदवार कृष्ण धिताल र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालगायत पनि छलफलमा सहभागी छन्।
प्रचण्डले चुनावी रणनीतिलगायत विषयमा आन्तरिक र सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका छन्।





