काठमाडौँ — पाकिस्तानी मुद्रा निकै कमजोर देखिएको छ । बढ्दो महँगी र वैदेशिक मुद्राको सञ्चितिमा कमी भएकाले अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा निकै कमजोर बनेको हो ।
शुक्रबार पाकिस्तानी रुपयामा ०.०६ प्रतिशतमा गिरावटमा आएर १७७.७१ भएको छ । डलरको माग बढेका कारण पाकिस्तानी रूपया अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको बताइएको छ । टपलाइन सिक्योरिटिजद्वारा गरिएको एक सर्भेमा आर्थिक वर्ष २०२२ को अन्त्यसम्ममा पाकिस्तानी रूपया डलरको तुलनामा १८०-१८५ सम्म पुग्न सक्नेछ ।
पाकिस्तानी रूपया पछिल्लो ७ महिनायता लगातार कमजोर भइरहेको छ । पाकिस्तानी केन्द्रीय बैंकद्वारा जारी तथ्यांकअनुसार जुलाई १, २०२१ बाट सुरु भएको चालु आर्थिक वर्षमा पाकिस्तानी रुपया १२.८० प्रतिशत अर्थात २०.१७ रूपयासम्म गिरावट आएको छ ।
आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई गत शनिबार मात्रै साउदी अरबले ३ अर्ब अमेरिकी डलर ऋण दिएको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केही दिनअघि देश चलाउन पैसा नभएको र ऋणको आकार बढिरहेको बताएका थिए ।
नेपालमा पनि निरन्तर बढ्दो
केही दिनयता नेपाली बजारमा पनि अमेरिकी डलरको विनिमय दर निरन्तर बढ्दो अवस्थामा रहेको छ । नेपालमा शनिबार बारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय २१ रुपैयाँ ५३ पैसा तोकेको छ । यो गत असोज २७ यताकै उच्च हो । गत असोज २७ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ १२ पैसा थियो । त्यसपछि डलरको भाउ केही घटेको थियो । यसअघि अप्रिल २०२० मा डलरको भाउ अहिलेसम्मकै उच्च १२१.६९ रूपैयाँ पुगेको थियो ।





