काठमाडौं, ११ कार्तिक ।
पाकिस्तानमा भएको हिंसामा कम्तीमा चार प्रहरीसहित आठ जनाको मृत्यु भएको छ । बुधबार भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा उक्त घटना भएको हो । जसमा सुरक्षाकर्मीतर्फ कम्तीमा चार जना तथा प्रदर्शनकारीतर्फ कम्तीमा चार जनाको ज्यान गएको बताइएको छ ।
२६३ भन्दा बढी घाइते भएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । प्रहरीका अनुसार प्रतिबन्धित संस्थासँग आवद्ध प्रदर्शनकारीले पहिले गोली चलाएपछि उक्त घटना भएको हो ।
पूर्वी शहर लाहोर नजिकै प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान (टीएलपी) ले र्याली निकालेको थियो । उक्त र्यालीलाई नियन्त्रणमा लिन खोजेपछि सो झडप भएको बताइएको छ ।
र्याली इस्लामाबादतर्फ जाथ थालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा दुर्घटना भएको पंजाब प्रहरी प्रमुख राओ सर्दार अलि खानले बताएका छन् ।
उनले अब प्रहरीले यो समूहलाई नछाड्ने पनि बताएका छन् ।
आफ्ना नेता साद रिजबीलाई सरक्षाकर्मीले हिरासतमा लिएसँगै पाकिस्तानमा सो पार्टीले केही दिनदेखि लगातार विरोध प्रर्दशन गर्दै आएको छ ।





