रंजीत शर्मा, नवलपरासी ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि पश्चिम नवलपरासीमा उम्मेदवारहरूले मनाेनयन दर्ता गराएका छन् । जिल्लामा रहेकाे २ वटा प्रतिनिधिसभा सदस्य सीट र ४ वटा प्रदेश सभा सदस्य पदका लागी मनाेनयन दर्ता गरिएकाे छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, नेकपा एमालेका दीपेन्द्र अधिकारी तथा राप्रपा बाट ध्रुपबहादुर प्रधान लगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा पनि विभिन्न पार्टीका उम्मेदवार तथा स्वत्रन्तले उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरी, नेकपा एमाले तर्फबाट सिन्धु जलेसा बुढाथोकी, जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पुर्ब मन्त्री हृदयेश त्रिपाठी लगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन।
यसैगरि प्रदेश सभा २ क का लागि नेकपा एमाले तथा जसपा नेपाल तर्फका उम्मेदवार थानप्रसाद गैरे उम्मेदवार बनेका छन् । त्यसैगरी प्रदेश सभा २ ख का लागि नेकपा एमाले तथा जसपा तर्फबाट धरेन्द्र यादव, सत्ता गठबन्धन तर्फको नेपाली कांग्रेसबाट बैजनाथ कलवार तथा लाेसपा र राप्रपा नेपाल तर्फबाट नगेन्द्र अग्रहरीले उम्मेदवारी दर्ता गरेका छन ।
नवलपरासी १ को क बाट सत्ता गठबन्धन तर्फ बाट नेपाली कांग्रेसका विश्वप्रेम पाठक र १ (ख) बाट संविधान सभा सदस्य देवकरण कलवार (सन्तु) ले उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ को चुनावमा कँडेलले वाम गठबन्धनका उम्मेदवार माओवादीका घनश्याम यादव अहिरलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए भने नेपाली कांग्रेसका नेता देवकरण कलवारलाई सूर्य चिन्हबाट चुनाव लडेका हृदयेश त्रिपाठीले ५ हजार १ मतले जितेका थिए ।





