पप्पु रेग्मी नवलपरासी, ४ फागुन ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं. –१२ दबिला स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमंगल तालमा निर्माण गरिऐको ठूलो बुद्धमूर्तिको बुधबार एक कार्यक्रमका बिच मुर्ती अनावरण एवं उक्त क्षेत्रलाई प्राचीन बुद्धकालिन हलिदबसन नगर घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार अधिकारी र बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बुद्ध मूर्तिको अनावरण तथा प्राचीन हलिदवसन नगर घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार अधिकारीले प्रदेशको आर्थिक समृद्धिको आधार कृषि र पर्यटन भएको हुदाँ लुम्बिनी प्रदेश पर्यटकिय एवं पुरातात्विक हिसाबले प्रबल सम्भावना बोकेको हुदा प्रदेशले पर्यटनलाई बिशेष ध्यान दिनुपर्ने बताउदै पश्चिम नवलपरासीमा बुद्ध संग जोडिएका थुप्रै क्षेत्रहरु मध्ये बुद्धमंगल तालपनि ऐतिहासिक तथा प्रातात्विक स्थल भएकोले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार र नगरपालिकाले पहल गरेको बताउनुभयो । लुम्बिनीमा आउने पर्यटकलाई यहाँसम्म ल्याउन सके यस क्षेत्रको विकासमा फड्को मार्ने बताउँदै उहाँले यसका लागि यस तालको व्यापक प्रचारप्रसार र बुद्ध सर्किटमा जोड्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिका–१२ स्थित यस ताल भगवान् गौतम बुद्धसँग जोडिएकाले यहाँको ऐतिहासिकता र पर्यटन विकासका लागि काम भइरहेको बताउनुभयो बुद्धमंगल ताल क्षेत्र लाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी विकास अघि बढाइएको बताउदै यो क्षेत्र बुद्धकालीन हलिदबसन शहर भएकोले पनि यस क्षेत्रमा बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवर्धन गर्ने गरी यहाँको विकास, संरक्षण तथा प्रवर्धनमा नगरपालिका लागि परेकाे बताउनुभयो ।
कार्यक्रममा बिशेष अतिथि बर्दघाट नगरपालिका की नगरउपप्रमुख माया देवी पौडेलले नगरका पर्यटकिय क्षेत्रको सम्भावना बोकेका स्थानहरुलाई नगरपालिकाले स्थानिय पाठ्रयक्रममै समावेश गरी आउने पिढिहरुलाई सो क्षेत्रको जानकारी गराउने उद्धेश्यले काम अघि बढाईएको बताउनुभयो ।
बुद्ध स्थल क्षेत्रका ज्ञाता बेचु गौडले कार्यपत्र प्रस्तुत गर्दै बुद्धग्रन्थहरुमा उल्लेख गरिएअनुसार तत्कालीन कोलिय गणराज्यको हलिदवसन शहरमा बुद्ध आएर नित्य पाठ गरी शिष्यहरुलाई दीक्षित गर्नुभएको ऐतिहासिक तथ्य यसै क्षेत्रमा फेला परेकोेले यश क्षेत्रलाई प्राचीन बुद्धकालिन हलिदाबसन नगर घोषणा गरिएको बताउनुभयो ।
उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको यस क्षेत्रलाई पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न, बुद्धकालीन ऐतिहासिकतालाई जोड्न र बुद्ध परिपथमा समावेश गर्ने आधार निर्माणका लागि पनि यहाँका सबै पक्ष मिलेर लाग्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा चित्रकार मन गोल्डी लगायतले मन्तव्य राख्नु भएको थियाे ।
बुद्धकालीन सभ्यतालाई झल्काउने गरी तालको बीचमा बुद्धको मूर्ति राखिएको कमै स्थान रहेकाले पनि यसको विशेष महत्व रहेको बताईएको छ । नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा तालको सौन्दर्यीकरण र पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । परासी–त्रिवेणी हुलाकी सडकबाट आधा किलोमिटर उत्तरतर्फ सुन्दर र रमणीय वातावरणमा अवस्थित यो ताल क्षेत्र करिब सात बिघा क्षेत्रफलमा फैलिएको छ ।
ताल वरपर सरस्वतीको मन्दिर, शिवालय, बुद्धमार्गीको गुम्बा, १०८ शिवलिङ्ग, प्रतीक्षालय, सामुदायिक वन लगायतका प्राकृतिक तथा भौतिक संरचनाको निर्माण तथा विकास गरिएकाे छ । बुद्धमंगल जागृति महिला सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत स्थानीय क्लब र स्थानीय बासिन्दा यस तालको सौन्दर्य वृद्धि र संरक्षणमा निरन्तर लागिरहेका छन् ।
स्थानीय दीप प्रकाश लोहनीका अनुसार गौतम बुद्ध काठमाडौँ खाल्डो जाने क्रममा मनोरम यो ताल देखेपछि आफ्नो अनुयायी सहित यसै ताल छेउ राति बास बस्नुभएको र सो बसाइँको क्रममा स्थानीयवासी दुई जमिन्दार भाइ दबिला र मंगललाई आफ्नो प्रवचनबाट दीक्षित बनाएको इतिहास छ ।

ती दुई दाजुभाइमध्ये दबिलाको नामबाट आज पनि दुई गाउँ (पुरानो दबिला, नयाँ दबिला) रहेका छन् भने मंगलको नाउँ अगाडि बुद्धसमेत जोडी बुद्धमंगल ताल नामाकरण गरिएको छ । तत्कालीन समयमा घना जङ्गलबीच शान्त ताल रहनु र यस क्षेत्रमै नारायणी नदी पछि जल सुन्दरताका हिसाबले यही ताल नै उत्कृष्ट रहनुले पनि बुद्ध जीवनी, बौद्ध धार्मिक ग्रन्थहरुको मिहीन अध्ययन र अनुसन्धान हुने हो भने यस सम्बन्धमा थप तथ्यहरु फेला पर्ने उहाँको भनाइ छ ।
सिमसार क्षेत्र भएकाले विविध जलचर र ताल किनारमा सामुदायिक वनको समेत विकास गरिएकाले चराचुरुङ्गीको बासस्थानका रुपमा यो ताल रहन पुगेको छ । त्रिवेणीबाट कपिलवस्तुसम्मको क्षेत्र लुम्बिनी बुद्ध परिपथ अन्तर्गत पर्ने अत्यन्त महत्वपूर्ण क्षेत्र हो । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्यको सम्भावना रहेको यस तालको बीचमा बुद्धको ठूलो मूर्ति निर्माण गरिएको हो । सौन्दर्यीकरणपछि अहिले ताल सुन्दर देखिएको छ ।

नगरपालिकाको लगानीमा वरिष्ठ कलाकार बिके नरबहादुरले तालको बीचमा १२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्नुभएको हो । मुर्ति निर्माणकर्ता बरिष्ठ कलाकार नरबहादुरलाई सम्मानपत्र द्धारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रम बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यता तथा भिक्षु त्रिलोक स्तबिरको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।
वार्ड नं. १२ का वार्ड अध्यक्ष मान बहादुर मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बुद्धमूर्ति निर्माण समितिका सचिव मनोज पौडेलले गर्नुभएको थियो ।





