नवलपरासी ।
थारु मिलन केन्द्र नेपाल अन्तर्गत उपदान कलेक्शन सेन्टरले भुमिहीन नागरिकहरूको पुनःस्थापना र आवासका लागि खरिद गरेको जग्गाको स्थलगत अवलोकन गरिएको छ।
आइतबार सरावल गाउँपालिका–१ तिलकपुरमा सम्पन्न उक्त अवलोकन कार्यक्रममा केन्द्रका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा बर्दघाट नगरपालिका–११ गैडहा, बर्दघाट–१२ भटवलिया र सुनवल नगरपालिका–११ स्वाठीमा खरिद गरिएको जग्गाको निरीक्षण गरिएको हो।
थारु मिलन केन्द्र नेपालका अध्यक्ष देवानन्द फौजदारले संस्थाले देशभर फैलिएको भुमिहीन समस्याको दीर्घकालीन समाधानका लागि वैदेशिक परियोजनाको माध्यमबाट पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले जिल्लाका सातै पालिकामा बसोबास गर्ने भुमिहीनहरूको लगत संकलन कार्य जारी रहेको उल्लेख गर्दै, छनौटमा परेका परिवारलाई आवास निर्माणसहित लालपुर्जा वितरण गरिने बताउनुभयो।
उहाँका अनुसार: बर्दघाट–११ गैडहामा ७ विघा १० कठ्ठा जग्गा रु. ६ करोड ७५ लाखमा, बर्दघाट–१२ भटवलियामा १ विघा १७ कठ्ठा जग्गा रु. १ करोड ८५ लाखमा, सुनवल नगरपालिका–११ स्वाठीमा १ विघा जग्गा रु. २ करोडमा खरिद गरिएको हो।
कार्यक्रममा बोल्दै सरावल गाउँपालिकाका संस्थापक अध्यक्ष तथा सेन्टरका सदस्य राधेश्याम चौधरीले हालसम्म करिब १ हजार भुमिहीन परिवारको विवरण संकलन भइसकेको र तीमध्ये ७१७ घरपरिवारलाई प्राथमिकता दिइने जानकारी दिनुभयो।
त्यसैगरी, सेन्टरका सचिव सत्रुधन चौधरीले यो कार्यक्रम कुनै जाति, धर्म वा समुदाय विशेषका लागि नभई सम्पूर्ण भुमिहीन नागरिकका लागि लक्षित रहेको स्पष्ट पार्नुभयो। उहाँले विगतका शासन व्यवस्थाबाट जग्गाबाट वञ्चित दलित, अति विपन्न, जनजाति, मुस्लिम लगायतका समुदायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भइरहेको बताए।
लेखा समिति संयोजक अञ्जली चौधरीले यस्तो महत्त्वपूर्ण सामाजिक अभियानको हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताउँदै, अझै पनि लालपुर्जाविहीन थुप्रै नागरिकलाई समेट्ने प्रयत्न भइरहेको बताउनुभयो।
त्यसैगरी, सेन्टरकी सदस्य संध्या महतोले थारु मिलन केन्द्र नेपालले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत अति विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, महिला सशक्तिकरण र समुदाय विकासका विविध कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराउनुभयो।















