तुइन घटनाबारे भारतीय मानवअधिकार आयोगद्वारा अनुसन्धान

78

काठमाडौँ — भारतको राष्ट्रिय मानवअधिकार आयोगले नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता हुने गरी भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट गराइएको घटनामा अनुसन्धान अघि बढाएको छ ।

दार्चुलाको व्यास–२ मालघाटस्थित सीमा नदी महाकालीमा हालिएको तुइन । यो तुइन तर्दातर्दै गत साउन १५ मा भारतीय सुरक्षाकर्मीले लट्ठा खुस्काउँदा जयसिंह धामी नदीमा बेपत्ता भएका थिए । फाइल तस्बिर

नेपालको राष्ट्रिय मानवअधिकार आयोगको पत्रको उत्तर दिँदै भारतको आयोगले दार्चुलामा भएको उक्त घटनामा औपचारिक रूपमै उजुरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिएको छ । नेपालको आयोगको पत्रलाई उजुरी मानेर भारतीय आयोगले अनुसन्धान अघि बढाएको हो ।

आयोग (नेपाल) का प्रवक्ता टीकाराम पोखरेलका अनुसार आयोगले भारतीय आयोगलाई २०७८ भदौ २५ (सेप्टेम्बर १०) मा पत्र पठाउँदै घटनाबारे सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको थियो । २०७८ साउन १५ मा दार्चुलाको व्यास गाउँपालिका–२, माल (खाङदाङ) का ३३ वर्षीय धामी मालघाट–गस्कु जोड्ने तुइनबाट महाकाली नदी पार गरेर भारतीय भूमि हुँदै सदरमुकाम खलंगा आउने क्रममा थिए । मालघाटबाट नदी तरेर पारिपट्टि पुग्नै लाग्दा भारतीय भूमि गस्कुमा रहेका एसएसबीका सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि नदीमा खसेका धामी अझै बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाको अनुसन्धानमा सघाउन माग गर्दै भोलिपल्टै पिथौरागढस्थित भारतीय जिल्लाधिकारीलाई पत्र पठाएको थियो ।

घटनाको तेस्रो दिन साउन १७ मा सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले करिब १ महिना लगाएर तयार पारेको प्रतिवेदन भदौ १५ मा गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो । प्रतिवेदनमा ‘दार्चुला घटना एसएसबीको उपस्थिति र संलग्नतामा घटाइएको’ भन्दै भारत सरकारबाटै यसबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र धामीका परिवारलाई उचित राहत/क्षतिपूर्ति भराउन सिफारिस गरिएको थियो ।

त्यसको तीन दिनपछि भदौ १८ मा परराष्ट्र मन्त्रालयले नेपालस्थित दूतावासमार्फत भारतलाई ‘कूटनीतिक नोट’ पठाउँदै घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीमाथि अनुसन्धान गरी कारबाही र धामीका परिवारलाई राहत/क्षतिपूर्ति भराउन आग्रह गरेको थियो । कूटनीतिक नोट पठाएको २ महिना बितिसक्दा पनि भारत सरकारले त्यसको जवाफ पठाएको छैन ।

नेपालको मानवअधिकार आयोगले भने गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मान्दै घटनाको थप छानबिनका लागि भारतीय मानवअधिकार आयोगले पत्र लेखेको थियो । भारतीय मानवअधिकार आयोगले उजुरी दर्ता गरेसँगै भारतीय प्रशासनलाई समेत तुइन घटनामा एसएसबीको संलग्नताबारे निष्पक्ष अनुसन्धानका लागि थप दबाब पुगेको छ ।

‘दार्चुला तुइन घटना व्यक्तिको बाँच्न पाउने विश्वव्यापी मानवअधिकारको पनि विरुद्धमा छ, त्यसलाई समेत ध्यानमा राख्दै हामीले भारतीय समकक्षी कार्यालयलाई घटनाको छानबिनका लागि आग्रह गरेका थियौं,’ आयोगका प्रवक्ता पोखरेलले कान्तिपुरसित भने, ‘हामीले पठाएको पत्र उजुरीकै रूपमा ग्रहण गरी भारतीय आयोगले दर्ता भइसकेको जानकारी औपचारिक रूपमै आइसकेको छ ।’ उजुरी दर्तापछिको अवस्थाबारे भने कुनै जानकारी नआएको पोखरेलले बताए ।

१२ वर्षअघि पनि कामको सिलसिलामा भारतीय सीमावर्ती बजार जमुनिया गएका रौतहट सरमुजवाका मुकुल राय यादवको एसएसबीको कुटाइबाट मृत्यु भएको घटनामा मानवअधिकार आयोगकै पहलमा दोषीमाथी कारबाही र पीडितका परिवारलाई भारत सरकारले आर्थिक सहयोग उपलब्ध गराएको थियो । २०६६ असोज १७ मा नेपाल–भारत सीमावर्ती क्षेत्र जमुनिया गएका यादवलाई एसएसबीका सुरक्षाकर्मीले नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । दिउँसो २ बजे घाइते अवस्थामा घर पुगेका उनको भोलिपल्ट मृत्यु भयो । घटनालाई लिएर असोज २० मा नेपाल र भारतीय सीमा सुरक्षा अधिकारीबीच बैठक बस्यो ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान गरी घटनामा भारतीय सुरक्षाकर्मीको कुटाइबाट यादवको मृत्यु भएको प्रतिवेदन बनायो । त्यसको जानकारी गराउँदै घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने सम्बन्धमा पहल गरिदिन भारतीय राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गर्‍यो । भारतीय आयोगले पनि आन्तरिक अनुसन्धानमा एसएसबीको संलग्नता किटान गर्दै दोषीमाथी कारबाही र पीडितका परिवारलाई ५ लाख भारतीय रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको थियो । आयोगको निर्देशनअनुसार नै घटनाको ८ वर्षपछि २०७४ मा भारतीय गृह मन्त्रालयले नेपालस्थित दूतावासमार्फत मृतकको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो । दार्चुला घटनामा समेत आयोगले लिएको पहलअनुसार एसएसबीमाथि अनुसन्धान भए दोषीलाई कारबाही र बेपत्ता धामीका परिवारलाई भारतबाट आर्थिक सहयोग आउन सक्छ । धामीको परिवारलाई नेपाल सरकारले १० लाख रुपैयाँ सहयोग गरिसकेको छ । नेपालले दार्चुला घटनासम्बन्धी भारतलाई पठाएको कूटनीतिक नोटमा समेत बेपत्ता भएका धामीको परिवारलाई उचित राहत एवं क्षतिपूर्ति भराउन भनेको छ ।