तियानमेन चोकको हरेक संस्मरण मेटाउन चाहन्छ चीन

45

मनाेज घिमिरे

काठमाडौँ– चीनले हङकङमा एकतन्त्रीय नीति लागू गर्ने प्रयासलाई अगाडि बढाइरहेको छ । प्रजातान्त्रिक शासन प्रणाली मन पराउने हङकङ अहिले चीनको एकतन्त्रीय शासन प्रणालीको मान्यतालाई स्वीकार गर्न दबाव सहिरहेको छ ।

साथमा यतिबेला हङकङ मानव अधिकार विरोधी गतिविधिको समेत शिकार पनि भइरहेको छ । त्यहाँ जारी विद्रोह र प्रजातन्त्रप्रतिको मानिसको आस्थामाथि चिनियाँ सत्ताले बारम्बार हस्तक्षेप गरिरहेको छ । अहिले त्यहाँको प्राज्ञिक क्षेत्रमा समेत चिनियाँ हस्तक्षेप हुन थालेको छ ।

पछिल्लो समय दुई विश्वविद्यालयले तियानमेन चोक नरसंहारको स्मरण गराउने दुई स्मारकलाई हटाएका छन् । चाइनिज युनिभर्सिटी अफ हङकङले ‘गडेस अफ स्ट्याच्यु’लाई हटाएको छ भने लिंघान युनिभर्सिटीले त्यहाँको मूर्तिकलालाई हटाएको छ ।

सन् १९८९ मा भएको कुख्यात नरसंहारको घटना सम्झना गराउने सालिकलाई पहिले नै हङकङ युनिभर्सिटीले हटाइसकेको थियो । चिनियाँहरुले हङकङबासीमाथि र त्यहाँको राजनीतिक प्रणालीमाथि हस्तक्षेप गर्न खोजेपछिको यो पछिल्लो घटना हो ।

सन् १९८९ मै तियानमेन चोकमा सो घटना हुनुअगाडि नै चिनियाँ विद्यार्थीले वास्तविक सालिक ढालेपछि “गडेस अफ डेमोक्रेसी”को निर्माण भएको थियो ।

तियानमेन चोकको घटना संसारले कहिले पनि बिर्सन नसक्ने नरसंहारकारी घटना हो । प्रजातन्त्रको आवाज उठाउने त्यहाँका विद्यार्थीमाथि सेना प्रयोग गर्दै दमन गरिएको थियो ।

चिनियाँ सरकारले सो समयमा प्रदर्शनकारी र प्रहरी गरी २ सय जनाको ज्यान गएको बताए पनि अन्तर्राष्ट्रिय निकाय १० हजारभन्दा बढीको ज्यान गएकोमा ढुक्क छ ।

चिनियाँ युनिभर्सिटी हङकङले सालिक भत्किएको औपचारिक रूपमा स्वीकार नगरे पनि अनौपचारिक सालिक भत्काइएको जनाइएको छ । विश्वविद्यालय प्रशासनले अहिलेसम्म यस सालिकलाई क्याम्पस हातामा राख्न अनुमति नदिइएको तथा यसको पुन निर्माण र मर्मतको जिम्मेवारी पनि कसैले नलिएको दाबी गरिरहेको छ ।

लिंघन विश्व विद्यालयले पनि  विश्व विद्यालयको वातावरण सुरक्षित बनाउनका लागि यो कदम चालिएको जनाएको छ । लिंघन युनिभर्सिटीमा यसैको झझल्को दिने अर्को पेन्टिङ पनि छ ।

चीनमा भएको त्यो बिर्सनै नसकिने घटनाको बारे जानकारी दिन र स्मरण गर्न पाउने थोरै चिनियाँ अधीनको स्थानमध्ये हङकङ रहेको थियो ।

२०२० मा कोभिड महामारीको कारण जनाउँदै पहिलो पटक यस खालको प्रदर्शन गर्न र मानिस जम्मा हुनका लागि हङकङमा पनि रोक लगाइएको थियो । त्यहाँ रहेका अधिकारीहरू चिनियाँ दबावमा रहँदै गैर प्रजातान्त्रिक मान्यता स्थापित गर्न लागी परेको आरोप अन्तर्राष्ट्रिय निकायले सो समयमा पनि लगाएको थियो । यसै कारण सो बन्देजको पनि आलोचना भएको थियो ।  यसका कारण हङकङबासीमा चरम आक्रोश पैदा गरेको थियो ।

तियानमेन चोकमा भएको सो घटनाको स्मरण गर्न हजारौँ जना हङकङ आउने प्रचलन धेरै वर्षदेखि थियो । सन् २०२० को जुनमा पनि लाखौँ जना हङकङको भिक्टोरिया पार्क आउन तयार भए पनि उनीहरूलाई त्यहाँ उपस्थित हुन बन्देज लगाइएको थियो ।

अक्टोबर महिनामा त्यस कार्यक्रममा लगाइएका छेकबारको निगरानी गर्न उपस्थित भएका  नौ जनालाई ६ महिना देखि १० महिनासम्मको जेल सजाय सुनाइएको छ ।

त्यसै कार्यक्रममा सहभागी भए बापत गत महिना मात्र मिडियामा चर्चित व्यक्ति लीमी लेलाई १३ महिनाको जेल सजाइ सुनाइएको छ ।

बेइजिङले गत वर्षदेखि बलियो सुरक्षा कानून लागु गरेको छ । त्यो कानुनअनुसार अहिले धेरै हकमा  बन्देज लगाइएको छ भने आतङ्ककारी मुद्दा लगाइँदै यस्ता प्रदर्शनमा सहभागी हुनेलाई जेल पठाइने सम्भावना बलियो बनेको छ । यति मात्र होइन, अन्तर्राष्ट्रिय सङ्गठनसँग साइनो राखेको आरोपमा  पनि जो कोहीलाई कारबाही हुन सक्नेछ ।