घुसखाेरीकाे अड्डाः मझगावाँ मालपाेत कार्यालय रूपन्देही

105
लुम्बिनी, २३ माघ ।
  • अनियन्त्रित बनेकाे मझगावां मालपाेत कार्यालयकाे घुसखाेरी, प्रशासन माैन
सम्मरीमाई ७, बेतुकइयाँका गुजराती चमाइनले जग्गा नामसारी गर्न मझगावा मालपोत कार्यालयमा साताभन्दा बढी धाउनुपरेको छ । वडा कार्यालयबाट सिफारिस लगायतका कागजात लिएर १२ गते मालपोत कार्यालय पुगेकी उनले २१ गतेमात्र लालपुर्जा हात पारिन् । ‘घुस’को आठ हजार नगद बुझाएपछिमात्र काम भएको उनले बताइन् ।
त्यही ठाउँ बस्ने रामअवध मुराव जग्गा नामसारीका लागि मालमोत धाएको १५ दिनभन्दा बढी भइसक्यो । तर लालपुर्जा हात पार्न सकेका छैनन् उनले । उनको आवश्यक सबै प्रक्रिया पूरा छ । उनले मालपोत कार्यालयमा फोटो खिचेर लालपुर्जा उठाउन मात्र बाँकी छ । तर उही घुस दिने पैसा नभएर काम अड्किएको उनको गुनासो छ ।
मायादेवी–६ का निरज मिश्रको हाल पनि उस्तै छ । उनी १५ दिनदेखि जग्गा नामासरीका लागि मालपोत धाइरहेका छन् ।कर्मचारी नरहेको, बढी काम भएको, कम्प्युटर नचलेको लगायत बहानाबाजीले १५ दिनभन्दा बढी दौडधुप गर्दा पनि काम हुन नसकेको उनको गुनासो छ । जबकि, कार्यालयको नागरिक वडापत्रमा जग्गा बेचबिखन तथा नामसारीका लागि सामान्यतया एक दिनको समय लाग्ने उल्लेख छ ।
गुजराती, रामअवध र निरज त प्रतिनिधि पात्रमात्र हुन् । यस्ता धेरैले मझगावा मालपोत कार्यालयबाट सेवा लिन सास्ती खेप्नु परेको गुनासो छ । कर्मचारीले अवैध असुली नियतले सास्ती दिने गरेको सेवाग्रही पीडा पोख्छन् । कार्यालय समयमा बहानाबाजी गर्ने कर्मचारीले ‘सेटिङ्ग’का काम भने राति पनि गर्नेगरेको सेवाग्रहीको आरोप छ ।
गुजराती चमाइन श्यामबलीका श्रीमती हुन् । श्यामबलीको यसअघि नै मृत्यु भइसकेको छ । श्यामबलीको नाममा रहेको जायजेथा पहिला श्रीमती गुजरातीको नाममा हुनुपर्ने हुन्छ । उनीहरूका तीन छोरा अंशियार छन् ।
सबै स–परिवार मजदुरी गर्छन् । माइला छोरा दर्शन चमारले दैनिक पाँच सय रुपैयाँको ज्यालादारीमा काम गर्ने गरेको बताए । छोराहरूलाई घर बनाउन पैसा चाहिएको थियो । पैसाका लागि जग्गा बेच्ने बाध्यता भयो उनीहरूलाई । भएको जग्गा पनि मृतक बाबु श्यामबलीकै नाममा रहेकाले तत्काल बेच्न मिलेन । त्यसका लागि आमा गुजरातीको नाममा नामसारी गर्नुपर्ने देखियो । पहिला जग्गा किन्ने मान्छे खोजे । पैसा जोहो गरेर तिरो तिर्नेदेखि चारकिल्ला प्रमाणितलगायतका सबै प्रक्रिया पूरा गरे ।
त्यही दिनदेखि उनीहरू मालमोत कार्यालय धाउन थालेको माइला छोरा दर्शनले बताए । ‘एक लेखापढी व्यवसायीलाई भेटेर उनीमार्फत् काम थालियो,’ दर्शनले भने, ‘नापी शाखाबाट कित्ताकाटसम्म सजिलै भयो ।’ त्यसपछि इन्टरनेट नभएको, कम्प्युटर नचलेको, कहिले कर्मचारी अभाव र कहिले मिटिङ्गको व्यस्तता भन्दै अड्काउन सुरु गरिएको उनले बताए । ‘हामी मजदुर मान्छे, काम नगरी चुल्हो जल्दैन, हामीले कुनै चिनेका मान्छे र जोगाड पनि थिएनन्,’ दर्शनले भने, ‘लेखापढी व्यवसायीलाई मिलाउन भनियो । उनले आठ हजार रुपैयाँ डिमान्ड गर्दै तत्काल काम हुने बताएपछि हामीले बुझायौं ।
राति ८ बजेसम्म वृद्धआमालाई रोकेर जग्गाधनी पुर्जाका लागि फोटो खिच्ने लगायत कागजपत्रमा सहीछाप गरियो ।’ बुधबार (२१ गते) बिहान १० बजे मझगावास्थित मालपोत कार्यालय पुगेर लेखापढी व्यवसायीलाई पुर्जा प्रिन्ट गरेबापत्को थप दुई हजार थमाएपछि १० मिनेटमै जग्गाधनी दर्ता प्रमाणपुर्जा पाएको छोरा दर्शनले बताए । उनले भने, ‘गरिब र निमुखाको पीडा सुन्ने कोही छैन । हाम्रो भोटमात्रै चल्छ, अधिकार चल्दैन ।’
केही सिप नलागेपछि बाध्य भएर घुसकै रूपमा १० हजार रुपैयाँ बुझाउनुपरेको उनले बताए । काम नहुँदा एक सातासम्म दैनिक धाएका उनको परिवारका पाँच जनाको ज्यालादारी एक दिनको प्रतिव्यक्ति कम्तीमा पाँच सय रुपैयाँ हुन्छ । यसरी सातामा करिब २० हजार रुपैयाँभन्दा बढीको घाटा बेहोरेको उनले बताए । दर्शनले भनेअनुसार आफ्नै बुबाको नाममा रहेको दुई कट्ठामात्र जग्गा आमाको नाममा सार्न रसिदबिनाको मोटो नगद तिर्नुपरेको हो ।
सम्मरीमाई ७ का रामअवध मौर्याले गाउँमै जग्गा किनेका छन् । जग्गा नामसारी गर्न जग्गाधनीसहित उनी १५ दिनदेखि मालपोत कार्यालय मझगावा धाइरहेका छन् । कार्यालयमा जग्गाधनीको मोठ भिडाउने र किन्नेको फोटो खिच्ने काम बाँकी छ । ‘दुइछाक काटेर जेनतेन गरी जग्गा जोड्नेले कहाँ–कहाँ तिर्ने ?’ उनको प्रश्न छ । काममा जति दिन लागेपनि घुस चाहिँ नदिने उनको अडान छ ।
अर्का सेवाग्राही निरज मिश्र भन्छन लालपुर्जामा राख्नुपर्ने फोटोमध्ये आमाको फोटो खिचेको तर नाबालकको फोटो छुटेको बताउँदै थिए । ‘छुटेको फोटो खिचाउन पाँच दिनभन्दा बढी लागिसक्यो, बहानबाजीमात्रै भयो काम भएन,’ उनले भने । पैसा खाएर सेटिङ्गमा काम हुनेगरेको उनी बताउँछन् । घुस नदिँदा सास्ती बेहोर्नुपरेको उनको आरोप छ । यहाँको अनियमितता यतिमै सीमित छैन ।
विभिन्न किसिमले समस्यामा परेका सेवाग्राहीको गुनासो आएपछि सोमबार (१७ गते) राति करिब ९ बजे कोटहीमाई गाउँपालिका–५ स्थित मालमोत कार्यालय मझगावा पुगेका पत्रकारको टोलीले राति नै कार्यालयमा काम भइरहेको प्रमाणसमेत भेट्टायो । किन यहाँ राति काम भइरहेको छ भन्ने प्रश्नको जबाफ कसैले सन्तोषजनक दिएनन् । बरु, कार्यालयबाट कर्मचारीको भागाभाग भयो ।
मूलढोका बन्द गरिएको मालपोत कार्यालयभित्र राति काम भइरहेको देखेपछि ‘भित्र के हुँदै छ, को–को हुनुहुन्छ ?’ भन्दै बाहिरबाट कराएपछि कार्यालय प्रमुख तिलक रावतले साइडको ढोका खोलेका थिए । त्यहाँबाट पत्रकारको टोली कार्यालय छिरेको थियो । पत्रकारको जिज्ञासामा लेखापढी व्यवसायी रामब्रत गुप्ताले ‘तिलकमा जान लागेको’ हास्यास्पद जवाफ फर्काए । कार्यालय प्रमुख रावत चलिरहेको जेनेरेटर आफैँ बन्द गरी कार्यालय बन्द गर्न कम्प्युटर अपरेटर रवीन्द्र पाण्डेलाई अह्राउँदै बाहिर निस्केका थिए ।
कार्यालय प्रमुख रावतले ‘खासै काम नगरेको’ भन्दै सुध्रिने मौका दिन अनुरोध गरे । राती कार्यालय खोलेर गल्ती गरेको पनि उनले स्वीकार गरेका छन् । उनले लेखापढी व्यवसायीले पैसा उठाउने गरेको गुनासो आफूसमक्ष पनि पटक–पटक आउने गरेको सुनाए । ‘कार्यालयमा म एक्लो सुब्बा कर्मचारी हो, कामको बोझ धेरै भएकाले गाह्रो छ,’ उनले भने ।
सेवाग्राहीको काम समयमा सम्पन्न गर्न आनाकानी गर्ने र भोलि आउनुस् भन्न सहज मान्ने मालपोतका कर्मचारीलाई राति पनि कार्यालय खोलेर काम गर्दैगरेको देख्दा सबै अचम्भित छन् । कर्मचारीको व्यवहारले भू–माफियाको इसारामा राजस्व हिनामिना गर्ने, राजस्व मास्ने, रातारात काम गरेर सेटिङ्ग पुष्टि गर्नेजस्तो अवस्था देखिएको सेवाग्राही बताउँछन् ।