क्रान्तिकारी माओवादीले जनयुद्धको २७ औं वार्षिकोत्सव मनायो

63
नवलपरासी, १ फागुन ।
नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा जनयुद्धको २७ औ वार्षिकोत्सवको विशेष कार्यक्रम बर्दघाटमा भएको छ ।
आइतवार त्रिवेणीचोकका कार्यक्रम आयोजना गरेर क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा जनयुद्ध जिन्दावाद ! महान शहिद अमर रहुन ! लगायतको नारावाजी गर्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले कोणसभा गरेका थिए ।
कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलले मुख्य नेतृत्वले गद्धारी गरे पनि जनयुद्धको असली हकदार क्रान्तिकारी माओवादी रहेको जिकिर गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार आफुहरुले पुरा गर्ने बताउनुभयो ।
कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य चुडामणी भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा जनयुद्ध दिवसको शुभकामना आदान प्रदान समेत गरिएको थियो । त्यस्तै क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले एक प्रेस बक्तब्य जारी गर्दै जनयुद्ध दिवसको शुभकामना ब्यक्त गरेको छ ।
जिल्ला सेक्रेटरी छविलाल खरेलद्वारा हस्ताक्षरित बक्तब्यमा जनवादी क्रान्तिको लक्ष्य पुरा गर्न सबै क्रान्तिकारी शक्तिहरुबीच धुब्रीकरणकोे आब्हान गरिएको छ । त्यस्तै पूर्वी नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादी नवलपुरले २७ औं जनयुद्ध दिवस शुभकामना आदानप्रदान गरि मनाएको छ ।
फागुन १ गते जनयुद्ध शुरूवात गरिएको सम्झनामा जनयुद्ध दिवस मनाउने गरिएको हो । कावासोतीमा भएको कार्यक्रममा पोलिटव्युरो सदस्य चन्द्रहरि सुवेदी अटल, प्रदेश सहइन्चार्ज अशोक लम्साल अनुकुल लगायतले शुभकामना सहित प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले तत्कालिन नेतृत्वमा रहेको पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूले जनयुद्धलाई धोका दिएको बताएका थिए । कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको अध्यक्षतामा भएको थियो ।