किसान आन्दोलनमा राज्यबाट बल प्रयोग भएकोः मधेशी आयोग

47
मधेशी आयोगले तराई-मधेशका विभिन्न ठाउँमा जारी किसान आन्दोलनमा राज्यबाट बल प्रयोग भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानवअधिकारको उल्लंघन भएको बताएको हो । कृषिकर्म र धर्मका लागि अति आवश्यक पर्ने बिउ मल सहितका सामाग्रीहरू समयमै उपलब्ध गराउनु पर्ने मागका साथ किसानहरू आन्दोलनमा उत्रिएको भन्दै स्थानीय,प्रदेश र संघीय सरकार लगायतका सबै सरोकारवालाहरूले यथाशीघ्र ब्यवस्थापन गर्न आयोगले अपील गरेको छ ।
विज्ञप्तिमा ‘विगत केही साता देखि तराई-मधेशका विभिन्न ठाउँमा किसानहरुको आन्दोलन चलिरहेको र सो आन्दोलनमा राज्यद्वारा बल प्रयोग गरिएकोसम्बन्धी आयोगमा उजुरीहरु प्राप्त भएको र सो उजुरीहरुमाथि आयोगको गम्भीर ध्यानकर्षण भएको भनिएको छ। बेचिएका उखुको मुल्य सरकारले अविलम्ब उपलब्ध गराइ किसानको समस्या समाधान गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले सो समस्याको समाधान गरिदिन हुन अपील गर्दै राज्यले संयमित भएर समाधानार्थ कार्य गर्नुपर्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले उक्त आन्दोलनबारे स्थलगत अनुगमनका लागि आयोगका सदस्यहरु जिवछ साह, रेणुदेवी साह र विजय गुप्तालाई जिम्मेवारी सुम्पिएको जनाएको छ। स्थलगत अनुगमनको प्रतिवेदन प्राप्त हुनासाथ आयोगले यथाशीघ्र बैठक बसी आवश्यक प्रक्रिया अगाडि बढाउने विज्ञप्तिमा बताइएको छ।