ककरहवा सीमानाका खुल्याे, दुबै देशका नागरिकहरूले बाँडे मिठाइ

19

रूपन्देही, २० असाेज ।
लुम्बिनी, १९ असाेज/ रुपन्देही जिल्लाको कालीदह–ककरहवा सीमानाका अाजदेखि खुला भएको छ । सीमानाकाबाट आवत–जावत सुरु भएपछि नेपाल–भारत दुबै देशका स्थानीयले बाजागाजाका साथ पटका पडकाउँदै खुसी व्यक्त गरेका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी भारतीय क्षेत्रमै पुगेर रिबन काटेर १८ महिनादेखि बन्द रहेको ब्यरिकेटर उठाएपछि दुवै देशका नागरिकहरू खुसी भइ एकअर्कालाई मिठाइ खुलाउँदै खुसी साटासाट गरेका हुन् ।
विगत १८ महिनादेखि सीमानाका बन्द रहँदा रोटीबेटीको समबन्ध रहेको दुवै देशका स्थानीय नागरिकले निकै सास्ती खेप्नुपरेको भन्दै नगरप्रमुख चौधरीले नाका खोलिएपछि लुम्बिनीसमेतको पर्यटन प्रवर्द्धन हुने बताए ।

लामो समयदेखि नाकाबन्दका कारण चिसिन थालिएको रोटीबेटीको सम्बन्ध पुनः पूर्वत हुनेमा विश्वास ब्यक्त गर्दै उनले लुम्बिनीको सबैभन्दा नजिक र सुविधा सम्पन्न ककरहवा नाका खुलेपछि लुम्बिनी आउने पर्यटकमा वृद्धि हुने र विस्तारै पहिलाकै जस्तै अवस्था आउने बताए ।
सो अवसरमा भारत ककरहवा ग्राम पञ्चायत प्रतिनिधि दिलीप पाण्डेले दुवै देशको व्यापार एक अर्कामा भर परेको बताए । ‘रोटीबेटीको सम्बन्ध भएपनि पछिल्लो डेढ वर्षदेखि टाढिएका थियौँ, अहिले आवत–जावत खुलेको छ, हामी खुसी छौँ’, पाण्डेले भने, ‘तपाईंहरूले आफ्नो सीमा पहिला खोल्नु भएको छ, हामीले ढिलो खोलेका छौँ । यसको लागि नेपाल सरकारलाई धन्यवाद भन्न चाहान्छौँ ।’
नेपाल सरकार मन्त्रिपरिषदको ५ गते बसेको बैठकले बन्द रहेको नेपाल–भारत सीमानाका तत्काल खोल्ने निर्णय गरेपनि सीमासित जोडिएर रहेका प्रमुख जिल्ला अधिकारीहरूले माथिबाट परिपत्र नआएको बताएपछि केही दिनसम्म नाका अवरुद्ध नै रहेको थियो ।
परिपत्र आएपछि नेपालले आफ्नो नाका सुचारु गरेपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आवातजावत सहज बनाइदिएन । भारत सरकारका तर्फबाट सीमा खोलिने विषयमा कुनै प्रकारको निर्देशन नआएको बताउँदै भारतीय एसएसबीले बन्द नै राखेको थियो ।

दुई देशको आपसी सहमतिमा गत शुक्रबारबाट रुपन्देहीको मुख्य बेलहिया भन्सार नाका त खोलियो तर अन्य नाका भने पूर्ववतनै रहँदा नागरिकले राहत पाउन सकेनन् । कालीदह–ककरहवा नाका रुपन्देहीको दोस्रो ठुलो नाका हो । यसै नाका भएर बढी भारतीय पर्यटक लुम्बिनी आउने गरेका हुन्छन् ।
नेपालले नाका खोलेपनि भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएको उक्त नाकामा पहिलाको जस्तै एसएसबीले अवरोध कायमै थियो । नाका बन्द रहँदा स्थानीय १८ महिनासम्म विभिन्न चोरबाटो प्रयोग गर्दै आवत–जावत गरिरहेका देखिन्थे ।

रोटीबेटीको मात्र नभई ब्यापार र स्वास्थ्य संस्थाका लागि समेत सुविधा सम्पन्न भारतीय बजार ककरहवा स्थानीय नेपालीको लागि महत्त्वपूर्ण मानिन्छ । सीमा खुल्ने खबर पाएपछि स्थानीयहरू बाजागाजासहित नेपाल र भारतको जय जयकार गरेका थिए ।