काठमाडौं, २२ कात्तिक
नुवाकोट, ककनी गाउँपालिका-१ ठुलो खोला पाँचमाने बस्ने ६१ वर्षीय पहलमान तामाङको गोठमा सोमबार बिहान आगलागी हुँदा सोही गोठमा सुतेका सो क्षेत्रमा ज्यालादारी गरी हिड्ने हाल वतन नखुलेका बाबुराम तिमल्सिना नाम बताउने करिब ६० वर्षीय पुरुषको आगलागी परी सोमबार बिहान मृत्यु भएको छ । आगलागीबाट करिब ३ लाख ९५ हजार रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
संखुवासभा, सिलिचोङ गाउँपालिका-५ निबुङ बस्ने रण बहादुर राईको घरमा केटाकेटीहरुले चुलोमा आगो खेलाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ईलाम, माई नगरपालिका-७ रातमाटे बस्ने सन बहादुर मगरको घरमा विद्युतको तार सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन, अन्नपात जलेर करिब ७ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, हरिनगरा गाउँपालिका-३ बस्ने छुतारु मेहेताको घरमा बिद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, र भाडावर्तन जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, गणेशमानचारनाथ नगरपालिका-४ वीरेन्द्रबजार बस्ने धर्मेन्द्र साहले सोही ठाउँमा संचालन गरेको रेडिमेड कपडा पसलमा बिद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा कपडाहरू र फर्निचर जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





