दोलखा । दोलखा प्रहरीले चिनियाँ नाकाबाट तस्करी गरेर ल्याएका थप ४ किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका-१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो ४ किलो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख दिपक खड्काले बताए ।
‘लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा फेला पारेका छौं,’ उनले भने, ’तर सो सुन तस्करी गरी लुकाउने व्यक्ति पहिचान भएको छ ।’ हाल उनी फरार रहेका प्रहरीले जनाएको छ ।
यो सहित प्रहरीले गएको ५ दिनमा ११ किलो सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका-१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ ।
सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई लामाबगरबाट आइतबार र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । विगु गाउपालिका-३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको सुन बुधबार ४ किलो र शुक्रबार ३ किलो सुन प्रहरीले पक्राउ गरेको थियो । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले हालसम्म तस्करले ल्याएको ११ किलो सुन पक्राउ गरेको छ । फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।
फरार रहेकाहरुसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खोजी कार्य जारी राखेको हो ।