काठमाण्डाैं, भदाै ३० गते ।
स्थानीय तह तेश्राे चरणकाे निर्वाचनमा अाफ्ना उम्मेदवारलाइ जिताउन र जनमत अाफ्ना पक्षमा पार्नका लागि शीर्ष नेताहरू अहिले २ नं. प्रदेशकाे चुनावी दाैडाहामा व्यस्त भएका छन् । अाफ्ना उम्मेदवारलाइ जिताउनका लागि विभिन्न चुनावी सभामा सहभागी भए र अाफ्ना उम्मेदवारकाे पक्षमा सम्बाेधन गरे । अाफ्ना प्रतिबद्धता जनता माझ राखे ।
प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले २ नम्बर प्रदेशका जनता मर्कामा परेको बताएका छन् । वीरगञ्जमा शुक्रबार आयोजित चुनावी सभामा उनले संविधान संशोधन मार्फत मधेसी जनताको भावना सम्वोधन गर्न खोज्दा सफल हुन नसकेको बताए । आफ्नो भाषणको अधिकांश समय एमालेलाई मधेस विरोधी दल भएको सावित गर्नका लागि खर्चेका देउवाले एमालेकै कारण संविधान संशोधन विधेयक असफल भएको आरोप लगाए ।
‘सार्वभौम सत्ता जनतामा निहित भन्नुको अर्थ जनताले सरकार बनाउने र बदल्ने शक्ति राख्दछ, सार्वभौम जनताले अधिकार माग्नु स्वभाविक हो ।’ प्रधानमन्त्री देउवाले भने,‘संविधान संशोधन गरेर मधेसी जनतालाई अधिकार दिउँ भनेको एमालेले सहयोग गरेन । दुई तिहाई मत पुर्याउन सकेनौं ।’ मधेसी जनताका लागि भाषाको ग्यारेन्टी, अधिकारको ग्यारेन्टी गराउन खोज्दा पनि एमालेले सहयोग नगरेको आरोप उनले लगाए ।
उनले आफनो अधिकार दिने पार्टीलाई भोट दिने कि नदिने ? महानरगका मतदातालाई प्रश्न समेत गरेका छन् । उनले पुनः प्रश्न गर्दै भने,‘संविधान संशोधन गरेर माग पुरा गराउने पार्टीलाई मधेसी जनताले भोट दिनेमा म विश्वस्त छु ।’ २००७ सालदेखि नै भएका हरेक परिवर्तनका आन्दोलनको नेतृत्व गरेको काँग्रेसले जति विकास अरु दलले गर्न नसक्ने ठोकुवा पनि देउवाले गरे ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले २ नम्बर प्रदेशमा एमालेलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । एमाले चन्द्रपुर नगर कमिटिको आयोजनामा चन्द्रनिगाहपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अरु दल चुनाव जिताइदिनु पर्याे भनेर विदेशीसँग ‘त्वमः शरणम’ गर्न जान्छन् । एमाले जनताको शरणमा चुनाव जिताई दिनु पर्याे भनेर जाने गरेका कारण स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको र २ नम्बरमा समेत पहिलो पार्टी बन्ने ठोकुवा गरे ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दोहोर्याएका छन् । सर्लाहीको हरिवनमा शुक्रवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले माओवादी प्रति अहिले तराई मधेसमा जनलहर छाएकाले पहिलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताए । उनले मधेसका वुद्धिजिवी, समाजसेवी र अरु दलका नेता कार्यकर्ता धमाधम माओवादी केन्द्रमा प्रवेश गरिरहेको देखेर बिखण्डनकारी शक्तिहरु अत्तालिएका बताएका छन् ।
प्रचण्डले असोज २ को निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई मतदान गरि विजयी गराउन अपिल गर्दै हरिवनको पर्यटकीय क्षेत्र कैलाशपुरीको विकास, ताइवन बस्तीका बाढीको पुर्नस्थापना, उखु किसानको समस्या समाधान गर्ने जस्ता काममा पहल गर्ने प्रतिवद्धता जनाएका छन् । प्रचण्डले सुक्रवार नै जिल्लाको लालबन्दीमा पनि चुनावी सभालाई सम्वोधन गरेका थिए ।