शिव परियारले घाइते अवस्थामै गीत गाएर नचाए

9

चितवन, माघ ६ ।

पाँचौ खिचरा महोत्सवका लागि काठमाडौंबाट आउँदै गर्दा चर्चित गायक शिव परियारले हाँकेको गाडी सेती दोभानमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका गायक शिव परियारले आफ्ना प्रशंसकहरुको भने मन खिन्न बनाउन चाहेन । उनी घाइते अवस्थामै बेलुकीपख साढे पाँच बजेतिर खिचरा महोत्सव स्थलमा आइपुगे ।

उनका प्रशंसकहरु साँझ परेपनि खिचरा महोत्सवको स्टेज अगाडिबाट घर जान नमानेपछि महोत्सव आयोजकहरुले शिव परियारलाई घाइते अवस्थामै ल्याउनु परेको थियो । गायक शिव परियारले डेढ घण्टा सम्म स्टेजमा गीत गाउँदा उनका प्रशंसकहरु निकै उत्तेजित भई नाचेका थिए ।
आज शनिबारको हजारौं दर्शकहरुलाई दोहोरी गायक बालचन्द्र बरालले पनि मस्त नचाए । विशेष गरेर झोर्ले गीतका गायक बालचन्द्र बरालले करीब एक दर्जन गीत गाएर दर्शकहरुलाई पूर्ण रुपमा मनोरञ्जन दिए ।

आज मिस्टर एण्ड मिस थारुका बिजेताहरुबाट पूर्व मेचीदेखि महाकालीसम्मका भेषभुषामा सजिएर र्याम्प शो गरेका थिए । दिनभरिको स्टेज कार्यक्रममा थारु साँस्कृतिक नृत्य र जिके डान्स ग्रुपले उत्कृष्ट नृत्य प्रस्तुत प्रस्तुत गरेका थिए । नायिका अन्जु चौधरीले पनि थारु गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

भोलिको स्टेज कार्यक्रमका लागि गायिका प्रश्ना शाक्य, संजय चौधरी, नवराज श्रेष्ठ, अन्जु कुश्मी, कमला सापकोटा, पिके डन आउँदैछन् ।