रुघाखोकी लाग्दा घरमै उपचार

13

बिहान–बेलुकाको समयमा हल्का चिसोपन बढिसकेको छ । चिसोले रुघाखोकीको समस्या निम्त्याउने गर्छ ।

समान्य अवस्थामै समस्या नियन्त्रण गरिएन भने नाक, घाँटी र फोक्सोमा ठूलै असर गर्न सक्छ । सुरुवाती अवस्थाको रुघाखोकी नियन्त्रण गर्न घरायसी उपचार नै पर्याप्त हुन्छः

रुघा लागेपछि सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या हुन्छ । कफ जमेको छ भने छाती गह्रौँ हुन्छ र खोकी लागिरहन्छ ।

यस्तो अवस्थामा बिहान हिँड्नुअघि र राति सुत्नुअघि पानीको बाफ लिनु राम्रो हुन्छ । बाफले टालिएको नाक खुल्ने र कफ फुटेर निस्कन सहज गराउँछ । पिनास छ भने हाछ्युँ गर्दा आफ्नै नाकमा कुनै दुर्गन्ध आउँछ । यो अवस्थामा पनि पानीको बाफले आराम दिलाउँछ ।

तातो पानी पिइरहने, तातो रसयुक्त खानेकुरा खाने गर्नुपर्छ । 

जाँड–रक्सी, तारेको मासु वा दुग्ध पदार्थले कफ बढाउने हुनाले यस्ता चिज रुघाखोकी लागेको वेलामा नखानु नै उचित हुन्छ ।

अदुवाको रस र मह बराबर भाग मिसाएर ठूलो एक चम्चा बिहान–बेलुकी खाँदा आराम मिल्छ ।

तीन केस्रा लसुन पिसेर एक ठूलो चम्चा महमा मिसाएर १२ घन्टापछि खाँदा रुघाखोकीमा लाभ दिन्छ ।

एक चम्चा मह र कागतीको रस मिलाएर एक गिलास मनतातो पानीमा राखेर पिउनाले समस्यामा लाभ मिल्छ ।

एक चियाचम्चाभन्दा कम अदुवा, तुलसीको पात वा तुलसीको रस र एक चियाचम्चा पिसेको अदुवा पकाएर पिउँदा पनि रुघाखोकीमा फाइदा गर्छ ।

खोकीमा बेसारपानी सेवन गर्दाले निकै नै आराम दिन्छ । साभारः नयांपत्रिका