बर्दघाट, ३ माघ २०८२ ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, नगर कार्य समिति बर्दघाट (पश्चिम नवलपरासी) को नगर अधिवेशन शनिबार बर्दघाटमा सम्पन्न भएको छ।
अधिवेशन प्रतिष्ठान नेपाल नगर कार्य समिति बर्दघाटका अध्यक्ष छविलाल पौडेलको अध्यक्षता तथा प्रतिष्ठान नेपालका केन्द्रीय सचिव टिकाराम लुईटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि लुईटेलले सम्बोधन गर्दै, नेपालका विभिन्न जिल्लामा आ–आफ्नै शैलीमा भजन गाउने परम्परा रहेको उल्लेख गर्नुभयो। उहाँले वडा, नगर र जिल्ला अधिवेशन फागुन मसान्तसम्म सम्पन्न गरिने तथा प्रदेश र केन्द्रको अधिवेशन वैशाख मसान्तसम्म सम्पन्न गरिने जानकारी दिनुभयो।
अधिवेशन पछि केन्द्रको नीति तीन चरणमा रहेको बताउँदै पहिलो वर्ष आजीवन सदस्यलाई लक्षित गरी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने, दोस्रो वर्ष वडास्तरदेखि केन्द्रसम्म चरणबद्ध रूपमा राष्ट्रिय स्तरको भजन प्रतियोगिता आयोजना गरिने र तेस्रो चरणमा विधान अधिवेशन वडा नगर जिल्ला प्रदेश र केन्द्रको अधिवेशन तयारी गरिने योजना रहेको जानकारी दिनुभयो।
अधिवेशनमा जिल्ला अध्यक्ष तीर्थ सापकोटा, जिल्ला सचिव बसन्त रेग्मी, प्रदेश सचिव महेन्द्र रेग्मी तथा उत्पत्तेश्वर भजन समूहका अध्यक्ष राम प्रसाद पाण्डे लगायतले अधिवेशनको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष धनमाया तिवारीले राख्नुभएको थियो। स्वागत भजनका रूपमा उत्पत्तेश्वर शिव भजन समूह बर्दघाट ४ का कलाकारले भजन कीर्तन तथा झाँकी प्रस्तुत गरेका थिए ।
अधिवेशनले माया तिवारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नगर कार्य समिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा विष्णु प्रसाद उपाध्याय, सचिवमा पप्पु रेग्मी, कोषाध्यक्षमा बेद प्रसाद पाण्डे, सह–कोषाध्यक्षमा मञ्जु भुषाल र सह–सचिवमा रिता शर्मा चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा विमला पाण्डे, लोकनाथ भट्टराई, कृष्णबहादुर रायमाझी, राधा ढकाल, सुमित्रा पाण्डे र निर्मला शर्मा निर्विरोध चयन हुनुभएको छ। सल्लाहकारमा प्रजापति पौडेल चयन भएको छ र बाँकी पदपूर्ति कार्य समितिले गर्ने जानकारी निवर्तमान सदस्य रत्न पौडेलले दिनुभएको छ।















